काठमाडौं—जब चिल्लो गाडीको सिटबाट उठेर पूर्वराजा ज्ञानेन्द्र शाहले हात हल्लाए । मानौं मौसुफले नारायणहिटीकै गद्दीबाट प्रजाहरुलाई दर्शन दिइबक्सेकै बराबरीमा राजावादीहरुको हल्लीखल्ली मच्चियो ।
बल्खुमा दुर्गा प्रसाईँले उतारेको भिडभन्दा अझ आक्रामक, अझ भयंकर र डरलाग्दा संकेतहरु देखापरे । पिङ मच्चिएन तर सय झट्का पक्कै दियो । किनकि अब त राजाले बाजा बजाउँछन् भन्ने डर पैदा भएपछि बालकोटबाट अस्थायी डेरा सरेका बालुवाटारी र खुमलटारीको सात्तो गएको झण्डै साता बितेको छ । त्यसमा पनि केही गणतन्त्रवादीहरुले त राजा आए जेल हाल्छन् भन्ने स्वीकार नै गरिसके ।
पूर्वराजालाई स्वागत गर्न विमानस्थल गएको भिड सानो थिएन । दलले दलबल देखाउन खोजेर राज्य सत्ताकै प्रयोग गर्दा पनि मुस्किलले हेर्नभन्दा बोल्नेकै संख्या धेरै हुन्छ । तर राजा भनेपछि उत्रिएको भिडले अब माहोल उही रहेन भन्ने संकेत गरेको छ । नपत्याए यी दृश्यहरु हेर्नुहोस् ।
पोखराबाट उस्तै भव्य विदाईपछि काठमाडौंको सानदार स्वागतमा उत्रिएका ज्ञानेन्द्र शाहले समेत भिडलाई इन्जोय गरे । दुर्गा प्रसाईंको हाउभाउ हेर्दा आफै राजा सरह महसुस गरिरहेका थिए । ज्ञानेन्द्र शाह समर्थकका हात छुँदै, कमल थापादेखि लिङ्देनसम्मका दर्शन भेट र पुष्पगुच्छा अंगाल्दै, भिडकै बीचमा रमाईरहे ।


प्रतिक्रिया