राजसंस्था पक्षधरका पछिल्ला केही गतिविधिकै कारण व्यवस्था संकटमा परेको विश्लेषण सुरु भएका छन् । राजावादीहरु एक ढिक्का छन् भने गणतन्त्रवादीहरु रक्षात्मक बन्दै गएका छन् । यसले साँचो अर्थमा राजसंस्था पुनःस्थापनाको सम्भावना छ त भन्ने बलियो प्रश्न खडा गरेको छ । एक रिपोर्ट ।
नेपालमा के साँच्चिकै राजसंस्था फर्किन लागेको हो ? किनकि राजावादीहरु एकाएक एकढीक्का बनेका छन् भने, गणतन्त्रवादीहरु पुरै रक्षात्मक बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लगालग प्रतिक्रिया दिइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड एक महिने पार्टी अभियान नै स्थगित गरि प्रतिवादमा उत्रिएका छन् । तथापी यसलाई बुझ्न पछिल्ला केही गतिविधिलाई गहिरोसँग विश्लेषण गर्न आवश्यक छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन २२ अर्थात् विहिबारमात्रै पोखरामा स्वर्गिय राजा वीरेन्द्रको शालिक अनावरण गरे । जहाँ झण्डै २ देखि ३ हजार भीड उत्रिएको अनुमान छ । त्यो भीडले नेपालको राष्ट्रियगान ‘सयौं थुंगा फूलका हामी’ होइन, नेपालका राजा र राष्ट्रप्रति समर्पित पुरानै राष्ट्रिय गान ‘श्रीमान गम्भीर’ जोडजोडले गायो ।
त्योभन्दा एक दिनअघि काठमाडौंमा राजावादीहरुको मोटरसाइकल ¥याली निस्कियो । ¥यालीमा सहभागीहरुको संख्या उल्लेख थियो भने यसले सरकारलाई समेत दबाबमा राख्ने काम ग¥यो ।
फागुन ७ गतेमात्रै कमै बोल्ने पूर्वराजा ज्ञानेन्द्र मच्चिएर बोले । राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस् भन्ने उनको सम्बोधनले ज्ञानेन्द्र अब खुलेरै तयारमा छन् भन्ने संकेत ग¥यो ।
तर के यत्तिकै कारण राजसंस्था पुनःस्थापना र ज्ञानेन्द्रको शीरमा श्रीपेच पुग्ने तथा गद्दि पुछपाछ गरिहाल्नुपर्ने सम्भावना छ त ? अब केही तथ्यमा जाऔं ।
तथ्य नम्बर एकः
भारतका राष्ट्रिय मिडियाहरु एकाएक उचालिएका छन् । राजावादीहरुको आन्दोलनले काठमाडौं जलिरहेको छ भन्ने तवरबाट समाचार प्रशारण गरिरहेका छन् । जबकि काठमाडौंमा त्यो अवस्था नै छैन । तर बीबीसीदेखि भारतीय मिडियाहरुमा यस्ता खुराक किन सार्वजनिक भइरहेका छन् भन्नेले ठूलो अर्थ राख्छ । किनकी विगत देखीनै भारतले हिन्दुराज्यको स्थापनाका लागि नै सही राजसंस्था उचालिरहेको छ भन्ने कोणबाट पनि हेरिएको छ।
तथ्य नम्बर २ः
टुटफुट भएका राजावादीहरु एक ढिक्का भएका छन् । जबकि उनीहरु सधैं मतभेद र विभाजनमा बाँचिरहेका थिए । अहिले भने राजसंस्था बोक्ने पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राजावादी अभियन्ता दुर्गा प्रसाईंसम्मका व्यक्तिहरु एक ठाउँमा उभिएका छन् ।
तथ्य नम्बर ३ ः
पूर्वराजा ज्ञानेन्द्र शाह नै आफै मैदानमा उत्रिएका छन् । उनको देश दौडाहले भारतीयसहितका अन्तर्राष्ट्रिय मिडियाहरुको मसलामा मलजल मिलिरहेको छ । राजाकै अगाडी श्रीमान गम्भीर गुञ्जिएको विषय पनि यतैबाट प्रेरित देखिन्छ । यसले गणतन्त्रलाई पुरै अस्वीकार गरि राजसंस्थालाई अंगाल्न पुग्नेहरुको संख्यालाई बल दिइरहेको छ ।
तथ्य नम्बर ४ः
राजावादीहरुले मुभमेन्टमा आक्रमकता ल्याइरहेका छन् । काठमाडौंको मोटरसाइकल ¥याली, पोखराको शालिक अनावरण र आइतबार काठमाडौंमा पूर्वराजाको स्वागतका लागि गरिएको तयारी केही घट्नाक्रम हुन् । पोखराबाट काठमाडौं फर्किन थालेका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न १० हजार मानिसहरु एयरपोर्टदेखि निर्मल निवाससम्म तैनाथ हुने राजावादीहरुको दाबी छ । यता त्यसैलाई बल पुग्ने गरि सरकारले सुरक्षा तैनाथी आजैबाट सुरु गरेको छ । राप्रपाका ज्ञानेन्द्र शाही लगायतका नेताहरु काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा पुगेर राजावादीहरुलाई एकीकृत गरिरहेका छन् ।
तथ्य नम्बर ५ः
यो तथ्य सबैभन्दा गम्भीर छ । राजावादीका यीनै गतिविधिलाई हेर्दा खासै आत्तिहाल्नुपर्ने अवस्था थिएन । तर अस्वभाविक रुपले गणतन्त्रवादीहरु रियाक्टीभ भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्तिएकै शैलीमा अभिव्यक्ति दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एक महिने अभियान स्थगित गर्दै गणतन्त्रविरुद्ध बोल्नेहरुको प्रतिवाद गर्न काठमाडौं फर्किने निर्णय गरे । शनिबारमात्रै रौतहटमा बोल्दै पूर्वराजालाई सत्तामा आउने रहर भए पार्टी खोलेर चुनाव जितेर आउन चुनौती दिए ।
गृहमन्त्री रमेश लेखकले समेत शनिबार डोटीमा बोल्दै पूर्वराजालाई चुनाव लड्न चुनौती दिए ।
तर पूर्वराजालाई चुनाव लड्न आउ भन्ने गणतन्त्रवादीको चुनौतीलाई प्रतिवाद गर्दै राजावादीहरु भन्दैछन्– राजा चुनावबाट आउने विषय नै होइन । चुनावबाट नेता आउने हो ।
अर्थात् राजावादीहरुको यहि मुभमेन्टकै कारण गणतन्त्रका मेजर पक्ष नै बढी तनावमा देखिएका छन् । तर राजाविरुद्ध ढुंगा हान्ने गगन थापादेखि, योगेश भट्टराई र रामकुमारी झाँक्रीजस्ता युवा नेताहरु अर्थपूर्ण मौनतामा छन् । अर्थात् उनीहरु अझै परिपक्क वातावरण निर्माणको प्रखाईमा हुन्कि भन्ने आकलन छ ।
तथ्य नम्बर ६ः
राजावादीहरु एकाएक एकढिक्का हुने मौका पाउनुको सबैभन्दा शक्तिशाली तथ्य नै यही हो । अर्थात् अहिले सबैभन्दा बढी असन्तुष्टि प्रधानमन्त्री ओलीका कारण देशभर मच्चिएको छ । प्रचण्ड–त्यसपछिका पात्र हुन् । अहिले ओली जनताको बीचमा सबैभन्दा बढी आलोचित र विवादित छन् । यसले पनि आन्दोलनलाई थप सघाउ पु¥याईरहेको छ । त्यसमा पनि दुर्गा प्रसाईँदेखि लिङ्देनसम्मले विरोधको प्रमुख पात्र ओलीलाई बनाइरहेका छन् । ओलीसँग भारत रिसाएकै बेला भारतीय मिडियाले विषयलाई थप उचाल्नुको अर्थ पनि यो सबै भारतकै इशारामा भइरहेको छ भन्ने अनुमानमात्रै गर्न सकिन्छ । तर यथेष्ट आधार छैन ।
किनकि देशमै सरकारका काम कारबाहीलाई लिएर चरम निराशा उत्पन्न भएको छ । भ्रष्टहरुलाई सरकारले भटाभट संरक्षण गरिरहेको छ । जनताहरु बलियो विकल्पको खोजीमा छन् । तर नपाएपछि पूर्वराजा नै भएपनि बोक्न तयार बन्दैछन् । अर्थात् राजा ठिक भएनन् भनेर राजा फालेकाहरु नै गणतन्त्रवादीको रवैयासमेत राजाकै जस्तो बनेपछि सयौं राजाभन्दा एउटै राजा ठिक छन् भन्ने तहमा पुग्दैछन् । राजावादीहरु यसैलाई हतियार बनाएर जनताको असन्तुष्टिसँग खेल्दै मौकामा चौका हान्ने योजनामुताविक सडकमा छन् । साम, दाम दण्डभेद लगाएर अहिले ट्रायल गर्ने र चैतमा निर्णायक आन्दोलन छेड्ने तयारी देखिन्छ । त्यसका लागि अहिल्यैदेखि दर्जन उग्र राजावादीहरुले मैदानको नेतृत्व गर्दैछन् । यसले प्रतिफल दिन पनि सक्छ, नदिन पनि सक्छ । अर्थात् सबैकुरा विकसित हुँदै जाने घट्नाक्रमले तय गर्नेछन् ।


प्रतिक्रिया