सांसदहरूले महत्वपूर्ण मुद्दा उठाइरहँदा संसद् बैठकमा भने कुर्सीहरू खाली हुने गरेका छन् । मन्त्री र शीर्ष नेताहरू नै बैठकमा अनुपस्थित रहँदा गरिमामय सदनको बैठक औचित्यहीन जस्तै बनेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा दुईवटा कार्यक्रम समावेश थिए । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेस गर्ने र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने । यसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २०८÷०८१ को २४ औँ वार्षिक प्रतिवेदन सभामा पेस गरे । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेय २०८१ माथि विचार गरियोस् गर्ने प्रस्ताव पेस गरे । विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ । विधेयकमा संशोधन प्रस्तावका लागि आह्वानसमेत भएको छ ।
यसअघि सांसदहरूले शून्य र आकस्मिक समयमा आ–आफ्नो भनाइ राखेका थिए । जुन क्रममा बिहीबार काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको पांग्रा जनकपुरमा छुटेको विषयले निकै स्थान पायो । हवाई क्षेत्रलाई बेवारिसे बनाएको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरे । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले हवाई सेवा यति बेवारिसे किन बनाइएको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गरे।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिपरहररूले कानुन नमान्दा दुर्घटना बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरे । अर्कारास्वपा सांसद डा.तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलप्रति लक्षित गर्दै कटाक्ष गरेकी छन् । डा.कार्कीले मन्त्रालयको सचिवमा वरिष्ठको आधारमा एक नम्बरमा रहेकी डा. सङ्गीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्त गरेको भन्दै लैंगिक विभेदको आरोप लगाएकी हुन् । संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको टिप्पणी गरिन् ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथिभरामा केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग माग गरे । सांसद पौडेलले वार्ता, सहमति र सम्झौताको विधि अपनाएर मुक्कुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध गरे । कांग्रेस सांसद प्रतिमा गौतमलेसरकारले मानव अधिकार र नेपालको संविधानले नै सुनिश्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको निःशुल्क व्यवस्था गर्न माग गरिन् ।
त्यस्तै नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले ४६ सालदेखि अहिलेसम्म सरकारी ओहोदामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।प्रतितिनिसभाको अर्काे बैठक फागुन २७ गते दिउँसो एक बजेका बस्ने छ ।सांसदहरूले संसद्मा महत्वपूर्ण मुद्दा उठाईरहँदा सदन भने खाली हुने गरेको छ । मन्त्री र शीर्ष नेताहरूले नै संसद् बैठकको बेवास्ता गर्दै अनुपस्थित हुने गरेका छन् ।जसले गर्दा कतिपय अवस्थामा सदनमा गणपूरक संख्यासमेत अपुग हुने गरेको छ । गणपूरक संख्या नपुग्दा संसद बैठकसमेत स्थगित भएका धेरै घटना छन् । शीर्ष नेता र हाजिर गरेर फरार हुने सांसदहरुको प्रवृत्तिका कारण जनताको आवाज बुलन्द हुने थलो गरिमामय संसदको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।


प्रतिक्रिया