Breaking

‘होस्टेल ३’को उत्साहजनक ओपनिङ, टिकटकरदेखि युट्युबरको भेला


युवा पुस्ताहरूको बहुप्रतिक्षित चलचित्र होस्टेल ३ शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ । चलचित्रको नामको ब्राण्ड, दर्शकमाझ लोकप्रिया अनुहार र चलचित्रको हाईपका कारण यस चलचित्रले पहिलो दिनमै उत्साह जनक शो पाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा कमै यस्ता फिल्महरू छन्, जसले आफ्नो नामलाई नै त्यसको ब्राण्ड बनाएका छन् । जसमा होस्टेल पनि पर्ने गर्छ । त्यही होस्टेल सिक्वललाई निरन्तरता दिँदै शुक्रबारदेखि देशभरका हलहरूमा होस्टेल–३ प्रदर्शनमा आएको छ । यसअघि चलचित्र निर्माण टोलीले हल व्यवसायीहरूको सिन्डिकेटले प्रदर्शनको समयमा हैरान खेप्नु पर्ने अवस्था हुने भए पनि होस्टेल ३ ले भने प्रदर्शनको पहिलो दिनमै देशभर दुई सय भन्दा बढी शो पाउन सफल भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस फिल्मलाई देशभरको १६ वटा हलमा गरी ६७ शो दिएको छ ।

त्यस्तै, दोस्रो ठूलो चेन आईएनआईले चार आउटलेटमा गरेर १६ शो र वान् सिनेमाजले दुई आउटलेटमा ९ शो दिएको छ । बिग मुभिजमा ५ शो, एफक्यूब सिनेमामा ५ शो, बिएसआर सिनेमा ४ शो पाउँदा शो संख्या उत्साहजनक रहेको छ । चलचित्र प्रदर्शन गर्न चाडपर्व र सार्वजनिक बिदा कुर्ने परिपाटी रहेको नेपालमा होस्टेल ३ ले भने ‘नन होलिडे’ मा रिलिज गर्दा बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेको थियो । चलचित्र हेर्न विद्यार्थीहरुको समेत भिड लागेको छ ।

११ वर्ष पहिले आएको होस्टेलले नेपाली सिने जगत्मा छुट्टै छाप छोड्दा अहिले यसैको सिक्वेल होस्टेल ३ हलहरूमा लागेको छ । ‘होस्टेल’ को दुई शृङ्खलाले व्यावसायिक रूपमा सफलता पाउँदा यो ‘स्टार’ जन्माउने सिक्वेल चलचित्र नै बनिसकेको छ । अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, प्रकृति श्रेष्ठ जस्ता कलाकारहरू ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’का उत्पादनहरू हुन् ।

अन्य कुनै नेपाली र बलिउडका सिनेमासँग प्रतिष्पर्धा गर्न नपरी एकल रिलिजको दुर्लभ अवसर मिलेको होस्टेल ३ मा भएका मुख्य पात्रहरू सबैले यसै चलचित्रमार्फत् ठूलो पर्दामा पाइला टेकेका छन् । जसमा टिकटक स्टारदेखि ‘स्टार किड्स’ हुँदै युट्युबमा कन्टेन्ट क्रियटरबाट उदाएकासम्मको अभिनय रहेको छ । पासरजङ्ग ठकुरी, सिम्रन पन्त टिकटबाट आउँदा चर्चित हाँस्य कलाकार केदारप्रसाद घिमिरेका सुपुत्र आशिष घिमिरे र भारतको सिक्किमका नेपाली भाषी युट्युबर पदम तामाङले चलचित्रमा डेब्यु गरेका हुन् । नवप्रवेशी कलाकारहरूले चलचित्रमा अभियन गर्नु सपना झै भएको प्रतिक्रिया दिएका छन् ।

होस्टेल ३ यस चलचित्रमा पनि विगतका दुई सिक्वेल जस्तै विद्यार्थी जीवनका विभिन्न पाटोलाई प्रस्तुत गरिएको छ । विद्यार्थी जीवनमा छात्रावासमा बस्नेहरुले त्यही आफ्नो छुट्टै परिवार र संसार बनाउँछन् । जीवन भोगाइलाई समाज र अभिभावकले बुझ्न नसकेको गुनासो विद्यार्थीको हुनेगर्छ । चलचित्रमा अभिभावक र विद्यार्थी दुवैको कथा र व्यथालाई प्रस्तुत गरिएको छ । दुवै पक्षको परिस्थितिलाई उजागर गरिएको यस चलचित्रमा यसअघिका दुई सिक्वेलभन्दा परिवेश र घटनाक्रम नयाँ रहेको निर्माण पक्षको दाबी छ ।

यस चलचित्रको पहिलो सिक्वल होस्टलको लेखन तथा निर्देशन हेमराज बिसीले गरेका थिए भने दुर्गिश फिल्मस्को ब्यानरबाट बनेको सो चलचित्रको निर्माता सुनिल रावल थिए । यस्तै होस्टल रिटन्र्सलाई सुरज भुसालले निर्देशन गर्दा निर्माता सुनिल रावल नै थिए । अहिलेको होस्टल ३ मा भने सशान कँडेलले निर्देशनमा डेब्यु गरेका छन् । साथै निर्माताहरुमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी छन् भने शंकर कोइराला कार्यकारी निर्माता रहेका छन् । यस चलचित्र भने सम्मान इन्टरटेन्टमेन्ट र आरोन कान फिल्म्सको ब्यानरमा तयार भएको हो । चलचित्र हेर्ने प्रमुख दर्शकको वर्गमा युवा पुस्ता नै पर्छन् । त्यसैले पनि युवा पुस्ता लक्षित यस चलचित्रले उनीहरुलाई आकर्षित गर्ने निर्माण पक्षको अपेक्षा छ । होस्टेल शृङ्खलाबाटै नेपाली सिने जगत्मा पाइला टेकेकाहरूले अहिले आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । सधैँ नयाँ पुस्तालाई मौका दिँदै आइरहेको चलचित्रको निर्माण पक्षले अहिले पनि सोही कुरालाई निरन्तरता दिँदा यसबाट डेब्यु गरेका कलाकारहरू पनि सफल र स्थापित हुने अपेक्षा गरिएको छ । ०००