Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

ट्रम्पसँग भिड्नेको बन्दै राष्ट्रवादी छवि, जेलेन्स्कीदेखि ट्रुडोसम्मको क्रेज बढ्दो


अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसंगै यतिबेला विभिन्न देशलाई उनले निरन्तर धम्की दिइरहेका छन् । तर ट्रम्पको धम्कीलाई बेवास्ता गर्नेक्रम पनि बढि नै रहेको छ । फलतः अमेरिकासँग झुक्न खोज्नेहरु राष्ट्रवादी नेता बनिरहेका छन् ।

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प आएसंगै अहिले उनी विभिन्न देशको प्रमुख आलोचनाको केन्द्रमा पर्न थालेका छन् । हुन पनि ट्रम्पले अहिले विभिन्न देशका प्रमुखलाई आफ्नो मुठ्ठिमा राख्ने प्रयास स्वरुप दबाब दिइरहेका छन् । यसको ज्वलन्त उदारण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीबाटै प्रष्ट हुन्छ । ट्रम्पको निम्तोमा अमेरिका पुगेका जेलेन्स्कीलाई ह्वाइट हाउसमा बोलाएर अपमान नै गरे ।

तर यस्को बदलामा जेलेन्सकी पनि के कम ट्रम्पलाई मुखभरीको जवाफ फर्काए र खनिज सम्झौता गर्न अमेरिका उडेका उनी एकाएक युरोप हानिए । युरोपका विभिन्न देशले जेलेन्सकीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पूर्ण साथसहयोग रहने ढाडस दिएका छन् । ट्रम्प विरुद्ध खरो बहस गरेका जेलेन्सकी अहिले आफ्नै देश लगायत अन्य विभिन्न मुलुकमा राष्ट्रवादी नेताको रुपमा कहलिएका छन् । योसँगै युक्रेनी सेनालेसमेत अमेरिकाको विरोध गरेको छ ।

त्यस्तै ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई समेत धम्की दिएका थिए । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने प्रस्ताव राखेका थिए । अमेरिका आउने क्यानडाका उत्पादनमा कर बढाउने घोषणा गरे । तर, ट्रम्पका गतिविधिले क्यानडाको सत्तामा रहेका ट्रुडोको लिबरल पार्टीलाई ठूलो फाइदा पुगेको छ । हालै सार्वजनिक भएको चुनावी सर्वेक्षणमा लिबरल पार्टीले विपक्षी कन्जरभेटिभ पार्टीभन्दा बढी लोकप्रियता हासिल गरेको छ । पछिल्लो सर्वेक्षणमा लिबरलले ३८ प्रतिशत र कन्जरभेटिभले ३६ प्रतिशत समर्थन पाएको छ ।

जबकि, ६ हप्ताअघि कन्जरभेटिभ पार्टीलाई ४६ प्रतिशत र लिबरललाई १२ प्रतिशतको मात्र समर्थन थियो । ६ हप्तामा लिबर पार्टीको लोकप्रियता २६ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पको आक्रमणका बाबजुद ट्रुडोले क्यानडाको आवाज उठाउन कुनै कसर बाँकी राखेनन् । कन्जरभेटिभहरूले ट्रम्प विरोधी भावना र लिबरल पार्टीको नयाँ नेतृत्वबाट चुनौतीको सामना गरिरहेको छ ।

यता ट्रम्पलाई अफगानिस्तानको तालिबान सरकारले पनि धम्की दिएको छ । ट्रम्पलाई हिम्मत भए काबुल आएर हतियार लैजान तालिबानको चुनौती छ । ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले छोडेका हतियार फिर्ता ल्याउने कुरा गरेका थिए । सन् २०२१ मा तालिबान काबुलतर्फ अघि बढेपछि अमेरिकी सेनाले अफगानिस्तान छोडेर हिँडेको थियो । यो अवधिमा अफगानिस्तानमा ठूलो संख्यामा अमेरिकी हतियार छुटेका थिए । ट्रम्पले यसै वर्ष जनवरीमा अमेरिकामा फेरि सत्ता सम्हालेपछि यी हतियार फिर्ता गर्ने बताएका छन् । ट्रम्पको यस्तो मागका कारण तालिबान आक्रोशित बनेको छ । यस विषयले पनि विश्वको ध्यान खिचेको छ ।

त्यस्तै मेक्सिकोसंग पनि ट्रम्पको सम्बन्ध राम्रो छैन । यसअघि ट्रम्पले मेक्सिकोको सिमानामा वाल लगाउने र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने भए पछि मेक्सिकोेले पनि फायर खोलेको थियो । ट्रम्पलाई जवाफ दिँदै मेक्सिकोले पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशतसम्म भन्सार महसुल लगाउने घोषणा गरेको थियो । सीमा सुरक्षाको विषयमासमेत राष्ट्रपतिले खण्डन गरेका थिए । यसपछि उनको चर्चा विश्वभर भएको थियो ।

ट्रम्पले विभिन्न देशमाथि निसाना साध्दा आफ्नो लोकप्रियता गुमाउँदै गरेका नेताहरुलाई यतिबेला बेफाइदाभन्दा पनि फाइदा भएको विश्लेषण हुन थालेको छ । ट्रम्पविरुद्ध अहिले युरोपेली देशहरुका साथै अन्य देशहरु पनि उभिएका छन् । जसले उनी घेराबन्दीमा पर्दै गएको संकेत गरेको छ भने विश्वभर उनको नीति र निर्णयले तरंग नै पैदा गरेको छ ।