समाचार

रिंकु प्रकरणले प्रहरी दबावमा, दोषि फरार, समुदायनै आन्दोलित


कानुनी राज्यमा कानुनलाई सर्वमान्य ठानेर अघि बढ्नु पर्ने निकायहरू नै कानुनको उपहास गर्न तल्लिन छन् । समाजबाट नै न्याय मार्ने काम भइरहँदा प्रहरी देखि जनप्रतिनिधीबाट पनि नागरिकले न्यायको अनुभुती गर्न पाएका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अहिले तराई–मधेस जागरण अभियान चलिरहेको छ । फागुन १२ गते देखि नेपालकै होचो भूभाग झापाको केचनकबलबाट थालेको माओवादीको अभियान सिराहा आइपुगेकोे छ । जहाँ यतिखेर एक १७ वर्षीय किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि भएको मृत्युले तनावको अवस्था छ । सोही घटनालाई बुझ्न र पीडित पक्षलाई न्याय दिलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका पदाधिकारी मृत्यु भईसकेकी रिङ्कुकुमारीको परिवारलाई भेट्न उनको घरै पुगेका छन् ।

भेटका क्रममा प्रचण्डले परिवारले जायज मुद्दा उठाएकाले न्यायको लडाइँमा आफू परिवारको साथमा रहेको आश्वासन दिएका छन् । माओवादीले रिङ्कुको न्यायका लागि संसद्मा पनि आवाज उठाएको र अपराधिलाई कानुनी दायरामा ल्याउन जिल्लामा रहेका नेता र पार्टीपंक्तिलाई पनि निष्पक्ष छानविनका लागि निरन्तर आवाज उठन निर्देनश दिएका छन् । जनदबावा सिर्जना गरेर सत्यतथ्य पत्ता लगाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।

गत माघ २७ गते जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारीको स्थानीय तीन किशोरले बलात्कार गरेको आरोप छ । रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले शौच गर्न गएकी रिङ्कुकुमारीलाई अपहरण गरी बलात्कार गरेका थिए । सोही विषयलाई मिलाउनका लागि वडासदस्य नथुनी साहसहितका गाउँका पञ्चहरू राखेर २९ गते पञ्चायती बस्दा रिङ्कुले आफूलाई जबरजस्तीकरणी गरेको बताएकी थिइन् । घटनामा सम्लनमध्ये रूपेशलाई एक लाख ५० हजार तिराएर घटना थामथुम पार्ने प्रयास भएको थियो । पुनः २९ गते बसेको पञ्चायतीमा १० हजार कटौती गर्दै १ लाख ४० हजार दिने पीडिक पक्षले बताउदा, बलात्कार आरोपी केटाले नै किशोरीलाई विवाह गरेर स्विकार्नुपर्ने माग परिवारले राखे ।
सोही दिनको साँझ रिङ्कुले अप्रिय निर्णय लिइन् । उनि आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिकी थिइन् । घटनाको विरोधमा मधेश देखि काठमाडौ नै तातिरहेको छ ।

सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले तीन आरोपी सहित पञ्चायती बस्नेसहित ८ जनाविरुद्ध चारवटा मुद्दामा पूरक जाहेरी दिएको छ । यसअघि आरोपी रुपेश विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिएको दिएको हो । यसअघि मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक शान्ति राज कोइरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समित गठन गरिए पनि सोचेअनुरुपको उपलब्धी भने हुन सकेको छैन । समितिलाई सात दिनको समयावधि दिए पनि मेडिकल रिपोर्ट नआएको र आरोपीहरू पनि फरार रहेको भन्दै घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताउने गरेको छ । दुई साता अघि पोस्टमार्टमका लागि सुविधायुक्त अस्पताल धरान पठाइएको थियो भने, आरोपीलाई खोज्ने काम प्रहरीको भए पनि फरार नै रहेको भन्दै पन्छिरहेको छ ।

सामूहिक बलात्कारमा परेकी छोरीको शंकास्पद मृत्यु भएपछि विक्षिप्त बनेको परिवारले १ फागुनमा किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय लहान पुगे पनि प्रहरीले रुपेशको नाममा मात्रै आत्महत्या दुरुत्साहन आरोपमा जाहेरी लिएको थियो । जसका कारण प्रहरी नै मुद्दालाई थामथुम पार्न लागिपरेको स्थानीयको आशङ्का छ । सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई सामसुम पार्न खोजेको भन्दै परिवार, स्थानीय प्रहरी देखि जनप्रतिनिधि प्रति नै विश्वस्त छैनन् । अपराध भईसकेपछि पनि अपराधीलाई ढाकछोप गर्न समाजका अगुवा र जननिर्वाचितहरूले नै प्रलोभनमा पार्ने काम भइरहँदा पीडितले न्यायको अपेक्षा कहाबाट गर्ने ?