काठमाडौं—प्रदर्शनको सङ्घारमा रहेको चलचित्र ‘लाज शरणम्’ कानुनी झमेलामा फसेपछि चलचित्र हलमा लाग्ने÷नलाग्ने अन्योलतालाई सेन्सर बोर्डले बाटो खुला गरिदिएको छ । आइतबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेसँगै फागुन १४ गते अर्थात् निर्धारित मिति महाशिवरात्रिदेखि नै लाज शरणम् देशभरका हलहरूमा लाग्ने भएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहेका मोहम्मद अफ्ताव आलमले आफ्नो अनुहार र आवरणसँग हुबहु मिल्दो चुल्दो अभियन गरेको भन्दै निषेधाज्ञाका लागि उच्च अदालत पाटनमा गत माघ २४ गते रिट दायर गरेका थिए । त्यही रिटमा फागुन ६ गते सुनुवाइ गर्दै चलचित्रको सेन्सर पास नदिई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लाज शरणम्को प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको थियो । तर, बहुप्रतीक्षित चलचित्र लाज शरणम्लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो स्वीकृतिसँगै चलचित्र लाज शरणम् निर्वाध रुपमा प्रदर्शनमा आउने भएको हो ।
मुद्दा मामिलामा अल्झिएको लाज शरणम्ले चर्चा र विवादपछि सबैतिर तरङ्ग ल्याएको छ । जिउँदो मान्छेलाई इँट्टाभट्टामा हालेपछि ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर जेल चलान भएका आलमले जेलबाटै न्याय मागेपछि फिल्म विवादमा तानिएको थियो । पुराना राजनीतिक दल र सत्ताको विरुद्धमा भएको भत्रे हल्लाले चलचित्रलाई विवादमा तानेको थियो । त्यस्तै चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला विवादपछि चलचित्रमा आलमकै आवरणमा अभिनयबाट कलाक्षेत्रमा फर्किएका कलाकार सीताराम कट्टेल (धुर्मुस)को कमब्याकले पनि चलचित्रको चर्चा छ । लोकप्रिय हाँस्य टेलिश्रृङ्खला सक्किगोनीमार्फत दर्शकको मन जितेका कलाकारहरूको अभिनय भएको चलचित्रले नेपालीपनको आभाष दिने निर्माण पक्षको दाबी छ ।
काठमाडौं महानगरपालिकाका विभित्र वडाका वडाध्यक्षदेखि वडासचिव समेत चलचित्रको प्रचारमा जुटेका छन् । चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’का निकट रहेका काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह बालेन पनि चलचित्रसँग जोडिदा यसको चर्चा थप उचाइमा पु¥याएको छ । महानगरको प्रमुख भईसकेपछि कला क्षेत्रदेखि सञ्चारकर्मी सबैबाट टाढै रहने बालेनकै शब्द, सङ्गीत र स्वरमा निर्माण भएको सिर्जना चलचित्रमा देखिएको त छ नै, आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिकसमेत गर्दा अर्काे चर्चा बटुलेको छ ।
निर्माण टोलीले चलचित्रको व्यापक प्रचासर प्रसार गरिरहेको छ । पर्यटन, यातायात, हवाई सबै क्षेत्रलाई जोडेर यसले चर्चा बुटलिरहेको छ । चलचित्रको प्रचार प्रसारमा खेलाडी, सञ्चार र राजनीतिकर्मीले पनि साथ र समर्थन दिइरहेको छ । साथै सामाजिक सञ्जालमा चर्चित रहेकाहरूले समेत चलचित्रको प्रचार गरिरहेका छन् । उच्च अदालतको अन्तरिम आदेशले अन्योलका बीच सन्सेर बोर्डले प्रदर्शनका लागि हरियो झण्डा देखाइसकेपछि लाज शरणम् महाशिवरात्रिदेखि हलहरूमा लाग्ने निश्चित भएको छ । दशैं तिहारमा आएका फिल्महरूले तताएको नेपाली चलचित्र बजारमा त्यसपछि आएका चलचित्रहरुले खास्सै व्यापार गर्न सकेका छैनन् । नेपाली चलचित्र बजारमा लागेको खडेरीपछि चर्चा र विवादले घेरिएको लाज शरणम्ले कतिको हारियाली ल्याउन सक्छ ? त्यो भने प्रदर्शनपछि आउने नतिजाले नै देखाउने छ ।


प्रतिक्रिया