Breaking

टायलमा आत्मनिर्भर नेपाल,नेपालमा उत्पादित टायल भारतमा निर्यात


टायल उद्योगमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका हुन् । प्राइम सेरामिक्स प्रा.लि.का सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताउनु भयो ।

उहाँले गत वर्षसम्म भारतबाट १४ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी गर्नुभयो । स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा २० देखि ३० प्रतिशत घटेको उहाँको भनाइ छ ।

लुम्बिनी सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यातका लागि योजनाहरु बनाइरहेको दाबी गर्नुभयो ।

निमाटोका निर्देशक जयश जैनले आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनेको बताउनु भयो । उहाँले निमाटोेले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको भन्दै आफ्नो कम्पनी नेपालको सबैभन्दा ठूलो टायल उत्पादन गर्ने कम्पनी बनेको दाबी गर्नुभयो ।

स्वदेशी टायल उत्पादनका कारण उपभोक्ताले सस्तो मूल्यमा टायल खरिद गर्न पाएको उहाँको भनाइ छ ।
नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेको बताउनु भयो । अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उहाँको भनाइ छ । भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग शुरु गरेको उहाँले बताउनु भयो । उहाँले नेपालको वार्षिक टायलको माग २ हजार हरोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने बताउनु भयो ।

केही वर्षअघिसम्म एकाधिकाररुपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभइ विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । टायल उद्योगलाई थप उत्पादनशिल बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन् । –न्युज एजेन्सी नेपाल