काठमाडौं—उच्च शिक्षाका लागि भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल गत आइतबार बिहान कलेजकै छात्रवासमा मृत भेटिइन् । प्रकृतिको शव नेपाल ल्याएर गृहजिल्ला रुपन्देहीको स्वर्गद्वारीघाटमा बिहीबार बिहान अन्त्येष्टिसमेत गरिसकिएको छ । तर उनको मृत्यु प्रकरणले भने एक किसिमको बहस नै छेडिएको छ । सुरुमा घटना दबाउन भूमिका खेलेको कलेज प्रशासनका साथै भारत सरकारकोसमेत आलोचना तीव्र रुपमा भइरहेको छ ।
लम्सालको शंकास्पद मृत्युलाई प्रशासनले प्रेमीसँगको ‘ब्रेकअप’ लाई कारण देखाएर घटना सामुसुम पार्न खोजेको थियो । तर सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कलेज प्रशासनकै कमजोरीका कारण प्रकृतिले ज्यान गुमाउनु परेको भन्दै विरोधमा उत्रिएपछि तनावपूर्ण अवस्थासमेत बनेको थियो । विद्यार्थीहरुको दवावकै कारण प्रकृतिलाई मानसिक यातना दिने र पटक पटक प्रशासनमा उजुरी परेका अड्विक श्रीवास्तवलाई गत आइतवार नै प्रहरीले नियन्त्रणमा लिइयो । पारिवारिक रुपमा राजनीतिक पृष्ठभूमि रहेका अड्विकमाथिको अनुसन्धान चलिरहँदा कलेज प्रशासनले घटनाको अनुसन्धानमा सहयोगी भूमिका खेल्नेभन्दा पनि नेपाली विद्यार्थीमाथि दुव्र्यवहार र अपमान गर्न उद्यत बन्यो । यसक्रममा गत सोमवार बिहान केआईआईटी प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी ग¥यो । नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने, आपत्तिजनक टिप्पणी गर्ने कार्य मात्र भएन कि विद्यार्थीहरुलाई जबरजस्ती नजिकैको रेलवे स्टेसनमा लगेर छाडिदिने हर्कतसमेत भयो । उनीहरुलाई विश्वविद्यालयबाट टाढै बस्न चेतावनी दिइयो । त्यो बेलासम्म सामाजिक सञ्जालमा सो घटना छरपस्ट भइसकेको थियो । नेपाल र भारत दुवै देशमा खैलाबैला मच्चियो । सामाजिक सञ्जाल, सडक हुँदै नेपालमा सदनसम्मै यो विषय उठ्यो । भारतमा विद्यार्थी संगठनहरुले कलेज प्रशासन, प्रहरी प्रशासन घेराउ गर्ने र राज्य संयन्त्रलाई दवाव दिने कामलाई तिव्रता दिए । अवस्था थप भयावह हुने देखेपछि सुरुमा रौद्र रुपमा प्रस्तुत भएका कर्मचारी तथा कलेज (.प्रशासनले झुक्न बाध्य भयो । साथै माफी माग्दै उनीहरुले नेपाली विद्यार्थीहरुलाई कलेज फर्किन आह्वान गरे । सो घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ । विश्वविद्यालयका संस्थापक अच्युता समान्त तथा उपकुलपति शरणजीत सिंहबीच भएको वार्तामा विश्वविद्यालयले विद्यार्थीका सबै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । बुधवार नेपालकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले उडिसाका शिक्षामन्त्रीसँग फोन सम्वादसहित घटनाको सत्यतथ्य छानबिनका लागि कुटनीति पहल जारी राखेकी छन् ।
विहीवार उडिसा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता जनाएका छन् । सुरक्षाका लागि २४ सै घण्टा सञ्चालन हुने गरी हेल्पडेस्क राख्ने बताएका छन् । यस्तै (केआईआईटी)ले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । सामाजिक कार्य र सेवा भावले संसारभर नाम कहलिएका डाक्टर अच्युता समान्त संस्थापक रहेको भारतको कलिंगा विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारपूर्ण व्यवहार र लापरबाहीका कारण बद्नाम हुन पुगेको छ । त्यसो त प्रकृति लम्साल घटनालाई लिएर भारतीय पत्रकारहरुले समेत आपत्ति जनाएका छन् । भारतीय वरिष्ठ पत्रकार रविश कुमारले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेर दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरु घटनास्थल पुगेको जानकारी दिनुले पनि स्थानीय पुलिस प्रशासन र कलेज प्रशासनमाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । नेपाली विद्यार्थीमाथि जुन किसिमको दुव्र्यवहार भयो त्यस्तो अहंकार कुनै पनि युनिभर्सिटीमा हुनु गलत भएको उनको भनाइ छ । साथै नेपाली विद्यार्थीमाथि कलेजका अधिकारीहरुले गरेको अपमानले दोस्रो मुलुकलाई भारतीयले कुन रुपमा हेर्न थालेका छन् भन्ने कुरालाई दर्शाउने भन्दै उनले कुनै पनि मुलुक सानो ठूलो नहुने र समान व्यवहारको आवश्यकता रहेको औँलयाएका छन् ।
कलेज प्रशासनले माफी मागेपछि आइतबारदेखि अस्तव्यस्त बनेको (केआईआईटी) परिसर अहिले सामान्य अवस्थामा फर्किसकेको छ । तर यस विषयमा अन्तर्राष्ट्रिय चासो भने कायम छ । नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गर्दै कलेज फर्किन मानिरहेका छैनन् । प्रकृति लम्साल मृत्यु प्रकरणपछि नेपाली विद्यार्थीहरुमाथि भएको दुव्र्यहार र कर्मचारीहरुको अपमानजनक टिप्पणीले भारतलाई शिक्षाको हब बनाउने लक्ष्य राखेको भारत सरकार उदाङगिएको मात्र छैन कि सुरक्षा संवेदनशीलता र अरु मुलुकलाई हेर्ने भारतीय डिग्रीधारीहरुको मानसिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ ।


प्रतिक्रिया