काठमाडौं—अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता गरेको एकपछि अर्काे निर्णयले विश्व राजनीति नै तरंगित बनिरहेको छ । ट्रम्पका निर्णय र त्यसले पार्ने प्रभावका हरेक दिन प्रमुख खबर बन्न थालेका छन् । राष्ट्रपतिको रुपमा दोस्रो पटक ह्वाइट हाउस प्रवेश गरेपछि अमेरिकाभित्र र बाहिर असर पार्ने विभिन्न कदमहरु उनले चालिरहेका छन् । उनको निर्णयले अमेरिकाभित्र मात्र नभएर विश्वलाई नै प्रभावित पार्न थालेको छ । पछिल्लो समय रुस–युुक्रेन युुद्ध अन्त्य गर्ने बाचा गरेका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एकल सहमति गर्दै युुद्ध अन्त्यका लागि वार्ता नै गरे । उनको यो निर्णयलाई युुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्विकार गर्दै आएका छन् । त्यसो त अहिले ट्रम्प पुटिनसंग दोस्तीको हात बढाएको प्रष्ट हुन्छ । पुटिनको पक्षमा खम्बा बनेर उबिएका ट्रम्पले जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन् ।
यो अभिव्यक्ति पछि दुई नेताबीचको दूरी थप बढेको छ । ट्रम्पको यो अभिब्यक्ति जेलेन्सकीले साउदी अरबमा भएको अमेरिका–रुस वार्तामा किभलाई समावेश नगरिएकोमा जनाएको प्रतिक्रियापछि आएको हो । फ्लोरिडामा साउदी समर्थनमा आयोजित लगानी सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘कमेडियन जेलेन्स्की वास्तवमै एक मात्र कुरामा कुशल देखिए त्यो भनेको जो बाइडेनलाई सजिलै नचाउन सक्नु हो ।’ उनले ‘तानशाह’ भनेपछि युरोपका नेताहरु भने असन्तुष्ट बनेका छन् । ट्रम्पले तानाशाह भनेपछि यस्तो टिप्पणी विरुद्ध युरोपेली नेताहरू जेलेन्स्कीको समर्थनमा उभिएका छन् । ब्राजिल, जर्मनी, स्विडेन, क्यानडाले ट्रम्पको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएकोसमेत बताएका छन् । ट्रम्पको अभिव्यक्ति र कदमले विश्वलाई नै तरंगित बनाइदिएको छ ।
ट्रम्पले लिएका नीति र बोलीले विश्वका कतिपय देशमा राजनीतिक उथलपुथल नै आउने संकेत गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेको राजीनामा आइसकेको छ । जर्मनीमा सरकार परिवर्तनको अवस्था बनेको छ । यूरोपका कतिपय देशमा सत्तामा हलचल आइसकेको छ ।


प्रतिक्रिया