काठमाडौं—नेपालको दक्षिणी छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा ठूलो संख्यामा भक्तजनहरू पुगिरहेका छन् । पवित्र नदी गङ्गा, जमुना र सरस्वतीको सङ्गमस्थल प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी हुन तथा स्नानका लागि विश्वका विभिन्न मुलुकका हिन्दुहरु पुग्ने क्रम जारी रहँदा नेपालबाट पनि ठूलो संख्यामा श्रद्धालु भक्तजनको भिड लागिरहेको छ । सो मेलामा सहभागी भएर पुन्य कमाउने भन्दै नेपाली नागरिकमात्रै पुगिरहेका छैनन् कि नेपालका राजनीतिक दलका नेताहरूको पनि विशेष प्राथमिकतामा परेको देखिन्छ । खास गरी संसद्को पहिलो दल नेपाली कांग्रेसका नेताहरू महाकुम्भमा डुबुल्की मार्न लर्काे लागेर प्रयागराज गइरहेका छन् । महामन्त्री गगन कुमार थापा, प्रवक्ता प्रकाशशरण महत, अर्जुननरसिंह केसी, पार्टीभित्र हिन्दु धर्मको वकालत गर्दै आइरहेका सांसद शङ्कर भण्डारी, सञ्जय गौतम, दीपक गिरी जस्ता नेताहरू प्रयागराजमा डुबुल्की मार्न पुगिसकेका छन् । बाँकी कयौं नेताहरू पनि जाने क्रममा छन् ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुन प्रयागराजतर्फ जाने कार्यक्रम थियो । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) निकट रहेर थिंक ट्यांकको रूपमा काम गर्दै आएको इन्डिया फाउन्डेसन र भाजपा नेतृत्वको उत्तर प्रदेश सरकारले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा देउवालाई वक्ताका रूपमा निम्त्याइए पनि अन्तिम समयमा आएर देउवाले भ्रमण रद्द गरेका हुन् । शुक्रबार र शनिबार हुने कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसमेत वक्ताका रुपमा सहभागी हुने तय भए पनि उनी लगायत उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि देउवाले भ्रमण रद्द गरेको जनाइएको छ । यसले कांग्रेसी नेताहरू धार्मिक आस्थाका लागि प्रयागराज जाने भन्दा पनि योगी आदित्यनाथलाई रिझाउन सक्रिय रहेको संकेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चाहना राखे पनि भारत भ्रमण गर्न नसकिरहेको अवस्थामा पूर्व प्रधानमन्त्रीको हैसियतमा देउवालाई गरिएको आमन्त्रणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारको प्रयासको रुपमा लिइएको थियो । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले सहज रूपमा लिएको छैन । त्यसमा कांग्रेस सम्मिलित सरकारले नै चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता गरेपछि भारत थप चिढिएको छ । त्यसैले चीनसँगको बीआरआई फ्रेमवर्कमा सम्झौता गरिसकेपछि बिग्रिएको सम्बन्ध भावी प्रधानमन्त्रीको समेत लिस्टमा भएका देउवाले त्यसअघि नै भारतसँगको सम्बन्ध सुधार गर्न चाहेका छन् । अहिलेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुग्न सहज बाटो भनेकै यूपीका मुख्यमन्त्री आदित्यनाथ हुन् । तर, भेटघाट नै नहुने भएपछि उक्त भ्रमण रद्द हुँदा ती सबै प्रयास असफल भएको छ । तीन पवित्र नदीको सङ्गममा डुबुल्की मार्ने देउवासहित कांग्रेसी नेताहरुको धार्मिक उद्देश्यमा राजनीतिक गन्ध पनि मिसिएको छ ।
कांग्रेसी नेताहरूले गरेको प्रयागराजको तीर्थाटन र देउवाले गर्ने भनेको स्थगित भ्रमणलाई कूटनीतिसँगै भोट र पार्टी नेतृत्वसँग पनि जोडेर हेरिएको छ । त्यसो त नेपाली कांग्रेसको नेतृत्व चयनमा विगतदेखि नै भारतको रुचि रहने गरेको र उसैले चाहेको व्यक्ति नै सभापति बन्दै आएका छन् । तर अहिले कांग्रेसमा महाधिवेशनको पनि चर्चा चुलिएको अवस्था छ । हिन्दु धर्मको एजेण्डाबाट जबरजस्त रुपमा भोटको राजनीति हुने हुँदा कांग्रेसभित्र देखिने र नदेखिने गरी हिन्दु धर्मको मुद्दा उठाउने नेताहरू पनि धेरै छन् । त्यसमा शङ्कर भण्डरीले निधारमा लगाएको टिको होस् वा गगनको निधार र शीरमा नटुट्ने चन्दन र फुललेसमेत हिन्दु धर्मको एजेन्डालाई कसरी बोकी रहेका छन् ? भन्ने पनि सङ्केत गर्छ ।


प्रतिक्रिया