पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देशमार्फत व्यक्त गरेका अभिव्यक्तिले अहिले नेपाली राजनीतिक वृत्त तरंगित बनेको छ । लामो समयको मौनता पछि प्रजातन्त्र दिवसको शुभकामना दिनेक्रममा पूर्वराजा शाहले व्यवस्था बदल्नेहरुले जनताको अवस्था बदल्न नसकेको र आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न भन्दै राजनीतिक दलहरुमाथि चेतावनीपूर्ण भाषा प्रयोग गरेका छन् । जसले राजावादीहरु हौसिएका छन् भने राजनीतिक दलहरु सशंकित बनेका छन् ।
बाह्र वर्षमा खोलो पनि फर्किन्छ भने झै १८ वर्ष अघि अवसान भइसकेको राजतन्त्र फेरि फर्काउन पूर्वराजा नै सक्रिय हुन खोजेको संकेत गरेका छन् । जनताको नासो जनतालाई फर्काएको भन्दै राजगद्दी छाडेर नारायणहिटीबाट नागार्जुन सरेका पूर्वराजा ज्ञानेन्द्र शाहले लामो समयको मौनतालाई तोड्दै ७५ औं प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देशमार्फत अब देश बचाउने अभिभारा आफूले लिने र त्यसका लागि जनतालाई साथ दिन आग्रहसमेत गरेका छन् ।
झण्डै दश मिनेट लामो भिडियो सन्देशमा शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका छन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन उनले नागरिकलाई आह्वान गरेका छन् । जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ ।
राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी नै दिएका छन् । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताउँदै जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरेका छन् । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने र सबैको पहिचान र अस्तित्व हुनुपर्नेमा त्यस्तो नहुनु दुःखद रहेको उनको भनाइ छ ।
मुलुकमा गणतन्त्र स्थापनापछि विभिन्न राष्ट्रिय दिवस तथा विशेष अवसरमा पूर्वराजा शाहले शुभकामना सन्देश दिँदै आए पनि यसपटक भने उनको सम्बोधन केही कठोर, देश र जनताप्रति बढी चिन्तित रहेको पाइएको छ । यसले सत्ता भागबन्डा र बाडिँचुढी देशको ढुकुटीमा रजगज गर्न पल्केका नेताहरुको भने होस उडेको देखिन्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेको टिप्पणी गरेका छन् ।प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथामात्र हो ! तसर्थ, हाम्रो भविष्यका रुपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
२००७ सालपछि आएका विभिन्न परिवर्तनले नेताका जीवनमा परिवर्तन आए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नआउँदा चरम निराशा छाएको देखिन्छ । त्यसमा पनि ०६२÷६३ को दोस्रो जनआन्दोलनपछि प्राप्त उपलब्धिकै कारण अहिले मुलुकमा गणतान्त्रिक व्यवस्था स्थापित छ । राजतन्त्र हटाएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा त रुपान्तरण भयो तर व्यवस्था परिवर्तनपछि पनि नागरिक र देशको अवस्थामा परिवर्तन नआउँदा नागरिकमै वितृष्णा छाउँदै गएको विश्लेषण भइरहेको छ ।
पूर्वराजाको पछिल्लो सक्रियतालाई लिएर राप्रपा नेपालको केन्द्रीय कार्यसमितिले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरव कायम गरौं भनेर आन्दोलनकै थालनी गर्ने बताएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउनका निम्ति भएको आह्वानप्रति बिनाआग्रह, पूर्वाग्रह सहयोगको हात बढाउन सबैसँग आग्रह गरेका छन् । पछिल्लो समय नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईंले पनि पूर्वराजालाई समर्थन जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । ‘राजा आफैंले समेत तदारुकता देखाएको बेला’ सबै जुट्नुपर्ने उनको मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले मंगलवार फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरे।टुटफुट हँुदै टुक्राटुक्रा भएका राजावादीहरु पूर्वराजाको पछिल्लो अभिव्यक्तिले हौसिएका छन् भने एक स्वरमा उभिएका देखिन्छन् ।
यही मौकामा जनस्तरमा बढ्दो वितृष्णालाई राजावादीहरुले भजाउन खोजे पनि नागरिकमा सिंगो प्रणालीभन्दा राजनीतिक नेतृत्वकोकार्यशैली र आचरणप्रति मात्रै बढी आक्रोश देखिन्छ । तर, आक्रोश र निराशा बढ्यो भन्देमा पछिल्लो जेनजी पुस्ताले दशकौँ अघिको जहानीय निरंकुश राजतन्त्रलाई स्वीकार्छन् भनेर हौसिनु कतिसम्म उचित होला? त्यो भने आगामी दिनले देखाउँने नै छ ।


प्रतिक्रिया