काठमाडौंं—दोस्रो पटक अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेयता डोनल्ड ट्रम्प एक्शनमा छन् । जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेबारे थियो । केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको घोषणा गरेको थियो ।
यस क्रममा डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम रोकेको थियो । यसैबिच ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण खुलाएका छन् । अनेक शीर्षकमा दिँदै आएका यी रकमलाई उनले ठगी भनेका छन् ।
डजले वित्तीय संघीयताका लागि दिँदै आएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि दिँदै आएको १ करोड ९० लाखसहित ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ रोकेको थियो । ‘यो फ्रड हो,’ पत्रकारहरू समक्ष बोल्ने क्रममा ट्रम्पले भने ।


प्रतिक्रिया