राजनीति

सभामुखमा ओलीको छायाँ, रास्वपामाथि प्रतिशोध !


संसदको हिउँदे अधिवेशन सुरु भएको दुई साता बित्यो । यो अवधिमा केही विधयकहरुमाथि छलफल चले पनि सदन, सदन जस्तो बन्न सकेको छैन । दुई तिहाइको शक्तिशाली सरकारले जारी गरेको अध्यादेश ज्युँका त्युँ छ । कानुन निर्माण गर्ने महत्वपूर्ण थलो सदन विगत झै नोकझोक र झगडा गर्ने थलो बनेको छ । सत्ता र प्रतिपक्ष सांसदहरु त छँदैछन् पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र सभामुखबीचको झगडा झन झाँगिदो छ ।

सबैभन्दा पहिले प्रतिनिधिसभाको जारी हिउँदे अधिवेशनको केही बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुबीचको यो सवाल जवाफको दृश्य हेरौँ ।

पहिलो दृश्य गत माघ १८ गतेको हो । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरु सदनमा उपस्थित थिए । सदनको पहिलो बैठकमै सभामुख घिमिरेले बैठकको कारवाही प्रारम्भ भएको उद्घोष गर्नासाथ रास्वपा सांसदहरु ज¥याकजुरुक उठे । सभापति रवि लामिछानेको निलम्बित संसद पद फुकुवा गर्न माग गरेका रास्वपा सांसदले बोल्नका लागि समय मागे । तर सभामुखले समय दिनुभन्दा पटक पटक नियम सम्झाए । सभामुख र रास्वपा सांसदहरुबीच लगभग २५ मिनेट सवाल जवाफ चल्यो । रास्वपाका सांसदहरु २९ मिनेटसम्म उभिँदासमेत सभामुखले समय दिएनन् उल्टै पेलेर बैठक अघि बढाएपछि उनीहरु बैठक हलबाट बाहिर निस्किए । समय तोकेरै १५ मिनेट बैठक बहिष्कार गरे । १५ मिनेटपछि आफैँ बैठकमा उपस्थित भए ।

बैठक सकियो विषय पनि त्यही सकियो । संख्या कम थियो तर सोमबार पुनः सदनमा त्यस्तै दृश्य देखियो । सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको उद्घोष गर्नासाथ पूर्व शिक्षामन्त्री समेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठ, रास्वपाकै अशोक कुमार चौधरी र माओवादी केन्द्रका सांसद रामकुमार राई ज¥याकजुरुक उठे । हात पनि उठाए । सभामुखले आकस्मिक समयमा बोल्न समय दिने भनेपछि उनीहरु बसे ।

बैठक अघि बढ्यो । आकस्मिक समय सकियो । सुरुवातमै बोल्न खोजेकी सुमनाको बोल्ने पालो नै आएन । सभामुख घिमिरे शून्य समयको कार्यसूचीतर्फ अघि बढेपछि सांसद सुमनाले जुरुक्क उठेर आसनमाथिको टेबल ढ्याढ्याप गर्दै समय मागिन् । सुमनाले समय मागिरहिन् सभामुखले समय दिनुभन्दा नियम सम्झाउन थाले । सुमना र सभामुखबीच केहीबेर दोहोरी नै चल्यो ।

सुमनाले टेबल ढ्याढ्याप गर्दै समय दिन आग्रह गरे पनि सभामुखले उनलाई बोल्ने पालो नदिई संसदको शून्य समय सुरू गरे । सभामुखले बोल्न समय नदिएपछि आक्रोशित उनी सदनको बैठक छाडेर बाहिरिन् । रातिसम्म चलेको सदनमा प्रहरी विधयकबारे बोल्न रोष्ट्रममा पुगेकी सुमनाले रोष्ट्रमबाटै सभामुखलाई आफूले बोल्न खोजेको विषयको ओझ बुझाइन् ।

मंगलवारको सदनमा सांसद सुमना श्रेष्ठ उपस्थित थिइन । सून्य समयमा बोल्नका लागि उनले नाम टिपाएकी थिइन् । उनलाई बोल्नका लागि सभामुख घिमिरेले समय दिए । एमाले सांसद सुनिता बरालले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले सांसद श्रेष्ठलाई बोल्न समय दिएका थिए । तर, उनले सभामुख घिमिरेले दिएको समयलाई बेवास्ता गरिदिइन् । सभामुख घिमिरेले उनलाई तीन पटकसम्म नाम बोलाएका थिए ।

सोमबार सदनमा सुमनालाई बोल्न समय नदिएपछि सभामुख स्वयम उदाङ्गिएनन् मात्र विषयवस्तुको गाम्भिर्यता नबुझेको भन्दै आलोचित नै भएका छन् । चौतर्फी आलोचित भएपछि सभामुख घिमिरे संसद सचिवालयमार्फत असन्तुष्टि प्रकट गरेका छन् । पहिलो पटक सदन छिरेका सांसदहरुलाई सिकाउने र विधिमा राख्न तथा अभिभाकीय भूमिका खेल्नुभन्दा उल्टै सांसदहरुसँग जुहारी खेल्न उत्रिने गरेका छन् । सदनको प्रक्रियाबारे पाठ पढाउँदै रास्वपाका सांसद सुमना श्रेष्ठ, सोविता गौतमले स्टन्टबाजी गरेको टिप्पणी गर्न भ्याएका छन् ।

आकिस्मक समयमा बोल्न सांसदले ढ्यापढ्याप गर्दा बोल्न नदिनु, पेलेरै अघि बढ्नुलाई सभामुखको दादागिरीको रुपमा चित्रण गर्न थालिएको छ । सांसद सोविता गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग गरेकी थिइन । सभामुख घिमिरेले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने बताएका थिए । यद्यपि सभामुखमाथि सभा सञ्चालनबारे एमाले बाहेकका सांसदहरुले प्रश्न गर्न थालेका छन् ।

एमाले कोटाबाट सभामुख बनेका देवराज घिमिरे सदन सञ्चालन गर्ने मामिलामा विवादित बन्दै गएका छन् । सभामुख एमालेको खेतालाका रुपमा प्रस्तुत भइरहेको भाष्य निर्माण हुन थालेको छ । कारण यसअघि रास्वपा सत्तामा हुँदा रवि बचाउन सभामुख एमालेको इसारामा चलेको भन्दै बद्नाम भएका थिए ।