अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अशान्त मध्यपूर्वमा शान्ति प्रक्रियाले तिव्रता पाएको छ । इजरायल–हमास युद्धविराम कार्यान्वयनमा गएको महिना दिन नबित्दै रुस–युक्रेन युद्ध अन्त्य गर्ने पहलले पनि तिव्रता पाएको छ । रुस–युक्रेन युद्ध अन्त्य गराउन रुसी र अमेरिकी उच्च अधिकारीहरु साउदी अरबको राजधानी रियादमा भेला भएका छन् । युक्रेनलाई सहभागी नगराइएको रियाद वार्ताको नतिजा कस्तो होला भन्ने चासो बढिरहेको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेशनीति सल्लाहकार युरी उषाकोभ सहित रुसी र अमेरिकाका उच्च अधिकारीहरु मंगलबार साउदी अरबको रियादस्थित अल दिरियाह प्यालेसमा भेला भए । रियाद वार्तामा साउदी अरबका विदेशमन्त्री प्रिन्स फैजल र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिनसमेत सहभागी भएको बताइएको छ । दुवै देशका विदेशमन्त्री नेतृत्वको रियाद वार्ताको एजेन्डा रुस–युक्रेन युद्धविराम रहेको छ ।
राष्ट्रपतिको पदभार सम्हाल्नु अघि दवाव नै दिएर १५ महिना लामो इजरायल हमास युद्धविराम गराएका ट्रम्प कसै गरी रुस–युक्रेन युद्ध अन्त्य गराउने ध्याउन्नमा छन् ।
केही दिनअघि रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग डेढ घण्टा लामो टेलिफोन वार्ता गरेका थिए । युद्ध रोक्न ट्रम्प र पुटिन तत्काल वार्ता अघि बढाउन सहमत भएपछि रियादमा विदेशमन्त्रीस्तीय बैठक बसेको हो । वार्ताको मुख्य एजेन्डा रुस युक्रेन युद्ध अन्त्य रहेको छ । तर बैठकमा युक्रेनलाई सहभागी गराइएको छैन । ट्रम्प र पुटिनको सहमति अनुसार नै युक्रेन मात्र होइन युरोपेली मुलुकहरुलाई समेत बैठकमा सहभागी गराइएको छैन । फलतः अमेरिका र रुसका उच्च अधिकारीहरुको रियाद वार्ताले विश्वको ध्यान तानेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देश संलग्न नभएको वार्तामा हुने कुनै पनि सम्झौतालाई नस्वीकार्ने स्पष्ट पारिसकेका छन् ।
युक्रेन युद्धसम्बन्धी वार्तामा आफूहरूलाई संलग्न नगराइएको भन्दै झस्किएको सिंगो यूरोपेली देशले सोमबार पेरिसमा आपतकालीन बैठक बसेर साझा अवधारणा बनाइसकेका छन् । यूरोपेली नेताहरूले युक्रेन बिना कुनै पनि शान्ति सम्झौता नगर्न चेतावनी दिएका छन् ।
युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाको सुरक्षा प्रत्याभूति आवश्यक रहेको आंैल्याएका छन् । फलतः पुटिन र ट्रम्पको अबको कदम के हुने भन्ने पनि रियाद वार्ताले निर्धारण गर्नेछ । तर, यो वार्ताले ट्रम्प र पुटिनबीच द्विपक्षीय वार्ताको वातावरण तयार गर्ने अपेक्षा गरिएको छ । मध्यपूर्वमा शान्ति स्थापना गर्ने ट्रम्पको एजेन्डा कार्यान्वयनले सक्रियता पाउँदा रुस युक्रेन युद्ध अन्त्यका लागि पनि उनको पहलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया