भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि अरु नेपाली विद्यार्थीमाथि कुटपिट भएको छ । न्यायको माग गर्दा उल्टै कुटपिट गर्दै छात्राबासबाट निकालिएपछि तीन सयभन्दा बढी विद्यार्थीहरु अलपत्र परेका छन् । अधिकांश नेपाली विद्यार्थीले खानासमेत पाएका छैनन् । चौतर्फी दबाबपछि यो प्रकरणको छानबिन सुरु भएको छ ।
भारतले दबाउन खोजेको नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु घटनाले नयाँ रुप लिएको छ । उडिसास्थित किट कलेजले घटनाको सत्यता लुकाउन भरपुर प्रयास ग¥यो । सुरुमा घटना हुुनै नदिन पहल गरेन । नहुनु भइसकेपछि पनि शान्तिपूर्ण न्यायका लागि उठेका आवाज दबाउने, प्रदर्शन गर्ने पाँच सय बढी नेपाली विद्यार्थीलाई कलेजबाटै निष्कासन गर्ने, न्याय माग्नेमाथि बाउन्सरको मुक्का बर्साउनेसम्मका गतिविधिले घटना लुकाउन खोजेको पुष्टि हुन्छ । तर, न्यायिक दबाबका अघि कलेज प्रशासन झुकेको छ । बाहुबली रुप देखाउने कर्मचारीहरुले माफी माग्न थोलेका छन् । नेपालको संसदमा यो विषय प्राथमिकताका साथ उठेको छ । प्रकृतिको न्यायका लागि नेपाल र भारतमा समेत विद्यार्थीले दबाब बढाएका छन् । यता, छात्रावासबाट निकालिएका नेपाली विद्यार्थी भने रेलवे स्टेसनमा अलपत्र परेका छन् ।
यो घटनाको फेहरिस्त बुझ्न केही दृश्य हेरौँ ।
पहिलो दृश्य ः
आक्रोशको उन्मादमा हैसियत बिर्सिएर गुण्डागर्दी शैली देखाउँदै केही कर्मचारीले नेपाली विद्यार्थीलाई कलेज छाड्न निर्देशन दिन्छन् । ‘नेपाल भारतका छोेटा भाइ हे’भन्ने हेपाह प्रवृत्तिको धङधङीले नछाडेका डिग्रीधारी यिनले कुटनीतिक मर्यादा र आफ्नै हैसियतको खिल्ली उडाउँदै नेपालको स्वाभिमानमाथि नै प्रश्न उठाएका छन् । न्याय माग्दा उल्टै सामान्य मानवताको समेत ख्याल नगरी ‘झोला समातेर निस्किहाल भन्दै’ निच हर्कत देखाए ।
तर, न्यायको आवाज उनीहरुले सोचेजस्तो कमजोर थिएन । यो विषयले उग्ररुप लिँदा नेपालीमाथि भएको व्यवहारबारे कलेजले नै माफी माग्नु परेको छ भने यस्ता गतिविधिमा सक्रिय कर्मचारी निलम्बनमा परेका छन् । भोलिपल्ट नेपाल र नेपालीको भावनामा चोट पु¥याएको भन्दै लाज ढाक्न माफी मागेका छन् ।
दोस्रो दृश्य ः
सुरुमा भटाभट छात्रबास छोडिहाल्न निर्देशन दिएको कलेजले त्यही राति होस्टल फर्कन दबाब दिन थाल्यो । रेल्वे स्टेसनमा अलपत्र परेका नेपालीहरुसँग खान र नेपाल फर्कन टिकटसमेत थिएन । तर, यो आन्दोलनलाई सामान्य आँकेको कलेजमाथि चौतर्फी दबाब आएपछि होस्टेल फर्काउन रेल्वे स्टेसनमै रातारात प्रहरी पठायो ।
नेपाली विद्यार्थीले भने प्रहरी पठाउँदा पनि सुरक्षा नभई असुरक्षा महसुस गरिरहेका थिए । किनकि कलेजका कर्मचारीको दादागिरीको रुप आँखै अगाडि देखेर उनीहरु रेल्वे स्टेसन पुगेका थिए । केही विद्यार्थी होस्टेल फर्किए पनि कलेजले बसिखान दिएन । बरु प्रकृतिको न्यायका लागि आवाज उठाउनेलाई छानीछानी बाउन्सर र सेक्युरिटी गार्ड लगाएर कुटपिट गर्न लगाइयो ।
अहिले फेरि विद्यार्थीहरु नेपाल फर्कन थालेपछि उनीहरुलाई कलेज प्रशासनले टेलिफोन गरी फर्काउन खोजिरहेको छ । तर, आधा बाटोमा पुुगिसकेका विद्यार्थीले मनपरी निकाल्ने अब बोलाउने ? भन्दै आक्रोश पोखिरहेका छन् ।
खासमा घटना के हो ?
बुटवलकी २० वर्षीया प्रकृत्ति लम्साल बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । तर, शनिबार साँझ कलेजकै होस्टेलभित्र झुण्डिएको अवस्थामा फेला परिन् । यसलाई कलेज प्रशासन र भारतीय मिडियाले आत्महत्या भने पनि विद्यार्थीहरुका अनुुसार घटना शंकास्पद थियो । प्रकृतिले एकजना विद्यार्थीले आफूलाई पटक–पटक मानसिक यातना दिएको भन्दै कलेज प्रशासनमा दुईपटक लिखित उजुरी दिएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अड्विक श्रीवास्तव नाम गरेका युवकले यातना दिने गरेको भन्दै उजुुरी गरे पनि कलेजले सुनुवाइ गरेन । त्यसपछि श्रीवास्तवले प्रकृतिलाई धम्कीपूर्ण र आपत्तिजनक शैलीमा म्यासेज र कल गरेको भेटिएको छ । सामाजिक सञ्जालमा भाइरल एक अडियोमा आपत्तिजनक शब्दसहित माफी माग्न भनिएको सुनिन्छ । अर्थात, श्रीवास्तवले पटकपटक यातना दिँदासमेत कलेज प्रशासनले गम्भीरता नदेखाएपछि यो घटना भएको देखिन्छ ।
प्रकृतिले आत्महत्या गरे पछि श्रीवास्तव आइतबारै भाग्न खोजेका थिए । राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान टिकट काटेका उनलाई पक्राउ गरेको प्रहरीले एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले युवकबाट मानसिक यातना भोगेकै कारण प्रकृतिले आत्महत्या गरेको हुन सक्ने देखिएको छ ।
नेपालको पहल कस्तो ?
– घटनाको सूचना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चासो
– परराष्ट्र मन्त्रालय हुँदै भारतस्थित नेपाली दूतावासद्वारा तुरुन्तै रेस्पोन्स
– क्याम्पस प्रशासनसँग कुुराकानी गरी नेपाली विद्यार्थीहरुलाई छात्रवासमै बसाउन पहल
नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना अधिकारीलाई ओडिसा पठाइयो
–राजदूत शंकर शर्माद्वारा कलेजका संस्थापकसँग कुराकानी
–विद्यार्थीको सुुरक्षाका लागि नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्मा दास र राष्ट्रिय अनुसन्धान विभागका नवीन अधिकारीलाई ओडिसा पठाइयो
तुलनात्मक रुपमा हेर्दा यसपटक परराष्ट्र मन्त्रालय र दूतावासले तीव्र रेस्पोन्स गरिरहेको छ । उनीहरुको पहल कदमी र दौडधुप प्रशंसनीय नै छ । तर, हुनु पर्ने जति पहल अझै भएको छैन । यस्तो घटना हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै सरकारको आयु तोकिरहेका थिए ।
नजिकै रहेको बुटवल पुगेर पीडित परिवारलाई भेट्न सक्थे । दुई मुलुकका प्रधानमन्त्री र मन्त्रीस्तरमा कुराकानी हुन सक्थ्यो । नेपाललाई भारतको प्रान्त हो भन्न पछि नपर्ने भारतीय सर्टिफिकेधारीले फेरि नेपालमाथि उठाएको प्रश्नलाई लिएर कुटनीतिक मर्यादा सिकाउनु पर्ने हो । वीर गोर्खाली भन्दै छाती फुलाउने हामी नेपाली भारतबाट कति हेपिन्छौँ भन्ने कुरा यो घटनाले स्पष्ट पार्दा हाम्रो सामथ्र्य के हो ? भन्ने देखाउन बाँकी छ । यसका लागि कुटनीतिक तहमै सरकारको बलियो उपस्थितिको अपेक्षा आम नेपालीले गरिरहेका छन् ।


प्रतिक्रिया