Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

लोसार पर्वलाई न्यूयोर्कमा सरकारी मान्यता,अल्टरनेट साईड पार्किङमा छुट


हिमाली समुदायको महत्वपूर्ण चाड लोसारलाई न्यूयोर्क सरकारले सरकारी मान्यता प्रदान गरेको छ । कोरियाली मुलका काउन्सिल सदस्य जुली वोनले दर्ता गरेको विधयक इन्ट्रो–सय सिटी काउन्सिलबाट सर्वसम्मत पारित भएपछि अमेरिकामा बसोबास गर्दै आएका हिमाली समुदायको प्रमुख चाड लोसार नयाँ वर्षलाई न्यूयोर्क सिटीको वैकल्पिक साइड पार्किङ अर्थात अल्ट्रानेटिभ साइड पार्किङ हलिडेको रुपमा सूचिकृत गरेको हो ।

न्यूयोर्क शहरको फोहोर मैला प्रवन्ध विभागले दैनिक सरसफाई गर्ने क्रममा पार्क गरेका गाडीहरु हटाउनु पर्ने नियम छ । लोसार पर्वको दिन वैकल्पिक साइड पार्किङ नियम निलम्बन गरेसँगै अब लोसारको पहिलो दिन सडकमा पार्क गरेको गाडीहरु हटाउनु पर्दैन ।

सिटी काउन्सिलको बैठक पछि काउन्सिल सदस्य जुली वोन र हिमाली समुदायले सिटी काउन्सिलको प्रागणमा ¥याली एवंम कार्यक्रम गरेर ऐतिहासिक विजयोत्सव मनाएका छन । उक्त समारोहमा सम्बोधन गर्दै  काउन्सिल सदस्य जुली वोनले न्युयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत, र अन्य देशहरूबाट आएका बौद्धधर्मवलम्विहरुका लागि पहिलो र एकमात्र एएसपी छुट्टी भएको बताउनुभयो ।

तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसेढुङ्गा भएको बताउनुभयो । हिमाली समुदाय सँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको बताउनुभयो ।

कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्सक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरु गेशे टाशी दोर्जे, एकाम्पनी क्यापिटलका कार्यकारी निर्देशक याङ्की छिरिङ्, दोखाम क्षुशी गाङड्रुकका अध्यक्ष नोर्बु ल्हामो, न्यूयोर्क न्युजर्सी तिब्बती समुदायका अध्यक्ष नुर्बु छोजुङ, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, गुरुङ तमु समाजका अध्यक्ष ओम गुरुङ, र भुटानीज कम्युनिटीका अध्यक्ष उलप लेकी, एनएसएसपीका अध्यक्ष दालामु शेर्पाले समेत सम्बोधन गर्नु भएको थियो ।

साँस्कृतिक मामला संबन्धी निर्देशक डोल्मा रिन्जिनले परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नाम तर गाना पर्स्तुत गरिएको थियो । जनवरी २३ मा भएको नगर परिषदको बैठकमा उपस्थित ४८ जना सदस्यहरुको सर्वसम्मतिबाट यो बिल पारित भएको थियो ।

न्युयोर्कको शेर्पा किदुग लगायता संघ संस्थाहरुले सन् २०१७ देखि लोसार चाडलाई पहिचान दिलाउने अभियान थालेका थिए। हिमाली भोट चन्द्र पात्रोको पहिलो दिन देखि १५ दिन सम्म मनाइने लोसार हिमाली समुदायको प्रमुख चाड हो। यस वर्षको लोसार फेब्रुअरी २८ को दिन परेको छ।