Breaking

डडेल्धुराको भित्रीमधेशमा सर्वाधिक राशिको भलिबल प्रतियाेगिता, देशभरबाट सहभागी हुन पाइने

विद्यालयको रजत जयन्ती : प्राविधिक धारतर्फ फरक सन्देश


काठमाडौं । डडेल्धुराको भित्रीमधेश क्षेत्रमा सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयले खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा देशभरबाट खेलाडी सहभागी हुन पानेछन् ।

पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख रुयैयाँ पाउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर सिंह माल ‘डायमण्ड’ले जानकारी दिए ।उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ । पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क ७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

महिला भलिबलतर्फ प्रथम हुने टिमले १ लाख पचास हजार रुपैयाँ, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पाउने अध्यक्ष मालले बताए । महिला भलिबलतर्फ टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ । दुबै पुरस्कारमा करकट्टी गरिने छ । प्रतियोगिता माघ २८ देखि फाल्गुुन २ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।


पुरुष भलिबलको यो पुरस्कार राशी जिल्लामै सर्वाधिक हो । गत वर्ष एक लाख ७५ हजार पुस्कार राखेको विद्यालयले यस वर्ष भने स्वर्ण जयन्ती परेकाले करिब दोब्बरले बढाइएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।


यस वर्ष विद्यालयको स्वर्ण जयन्ती परेको छ । २०३२ साल फागुन २ गते स्थापना भएको विद्यालयले प्राविधिक धारतर्फ सकारात्मक छवि बनाउँदै लगेको छ ।


संघीय सरकारको स्वीकृत कार्यक्रमअनुसार कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ बालीविज्ञान शंकाय प्रभावकारी बन्दै गएको हो । कागजी ज्ञानमा मात्र सीमित राख्ने पुरातन अभ्यासलाई तोड्दै विद्यार्थीहरुलाई श्रम र सीपसँग जोड्दा विद्यार्थीको आकर्षण पनि बढेको छ ।

२० रोपनी जग्गा लिजमा लिएरै बालीविज्ञानका विद्यार्थीहरुलाई तरकारी र फूल उत्पादनसँग जोडिएको व्यवस्थापन समिति अध्यक्ष डायमण्डले बताए । उनले भने,‘लगातार तेस्रो कार्यकाल व्यवस्थापन समितिको अध्यक्षमा रहँदा शैक्षिक गुणस्तर वृद्धिका लागि भागेश्वर मा.विबाट फरक सन्देश दिन खोजिरहेको छु । विद्यार्थीलाई व्यवसायिकतासँग नजोडी अबको शिक्षा काम छैन भन्ने लागेरै यो प्रयास गरेका हौँ।’