समाचार

नुवाकोटको तारुका र वेत्रावतीमा २५ हल गोरु जुधाइयो


नुवाकोट । माघे सक्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, वेत्रावती लगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको छ ।
माघे सक्रान्तिका दिन विभिन्न ईतिहाससंग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यसवर्ष नुवाकोटको तारुकामा १३ हल, वेत्रावतीमा ११ हल सहित जिल्लाको विभिन्न स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको हो । यसअघि दर्ता भएर जुधाउन चौध हल तयारी अबस्थामा राखेको भएपनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसगैँ १३ हल गोरु जुधाइएको हो ।

गोरु जुधाई प्रदर्शनीमा बिजेता र उपबिजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहन स्वरुप नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुती, जुधाईको कलाकौशल, संलग्न गराएका र बिजेता भएका सबै गोरुका धनीलाई भिन्न भिन्न बिधामा सम्मान गरिएको माघेसक्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए।

माघे सक्रान्ति पर्वको अवसरमा मंगलबार नै नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीमा एघार हल गोरु जुधाईएको छ । किसानले पालन गरेका मध्येबाट छनोटका आधारमा यसअघि दर्ता भएर तयारीमा राखेका गोरुलाई एक–अर्कासंग जुधाई प्रदर्शनी गरिएको गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले जानकारी दिए।

धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाँउठाँउमा यस परम्पराको थालनी भएको पाइन्छ ।