राजनीति

इजलासमा रवि : बहसमै आपत्ति, सरकारका ११ वकिल पुगे


स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहस नसकिएपछि रास्वपा सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन हिरासतमै रहने भएका छन् । काठमाडौं जिल्ला अदालतमा आज सुरु भएको थुनछेक बहस नसकिएपछि आगामी बुधबार हुने गरी सकिएको हो । लामिछानेको थुनछेक बहसका क्रममा पक्ष–विपक्षका अधिवक्ताबीच नोकझोकदेखि अदालत परिसरबाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाउनेसम्मका गतिविधि भए ।

गोर्खा मिडिया नेटवर्कमा विभिन्न पाँच सहकारीबाट रकम गएको अभियोगमा संस्थाका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछाने अहिले कानुनी लडार्इं लडिरहेका छन् । गत कात्तिक दुई गते सूयर्दर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछाने ८४ दिन हिरासतमा बसेर गत विहीबार ६५ लाख धरौटीमा छुटेका थिए । उक्त मुद्दा कास्की जिल्ला अदालतमा कायमै छ ।

यता, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आइतबार अदालतमा उपस्थित भएका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले फेरि न्यायिक हिरासतमा पठाएको छ । आइतबार उनको बयान सकिए पनि थुनछेक बहस नहुने भएपछि सोमबार पुनः उपस्थित गराउने गरी उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । सोमबार उनको थुनछेक बहस सुरु त भयो ।

तर, रास्वपा नेता, कार्यकर्ता तथा समर्थकले अपेक्षा गरे जस्तो उनी हिरासतबाट छुट्न सकेनन् । सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमै पठाएपछि रास्वपा कार्यकर्ता आक्राशित बने । थुनछेक बहस नसकिएको भन्दै न्यायिक हिरासतमै पठाउने न्यायाधीशको आदेशपछि अदालत परिसर बाहिर रहेका रास्वपा कार्यकर्ता तथा समर्थकहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजीमा उत्रिए ।

पज र माघे संक्रान्ति र माघीको बिदा भएकाले लामिछानेको थुनछेक बहस बुधबार मात्रै हुने भएको छ । जसले गर्दा उनी कम्तिमा थप दुई दिन हिरासतमै बस्नु पर्ने आएको हो । सोमबार भएको थुनछेक बहसका क्रममा सरकार पक्ष र जाहेरवाला पक्षका वकिलहरुले बहस गरेका थिए । जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेसँगै समय अभाव भएको भन्दै न्यायाधीश माधव अधिकारीले बहस टुंग्याउने जनाउ दिएका थिए ।

लगत्तै लामिछाने पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्त आसनबाट उठेर इजलासको अगाडि पुगेका थिए । उनले लामिछाने आफैँ अदालतमा हाजिर हुन आएकाले उनलाई वकिलको वा परिवारको जिम्मा लगाउन न्यायाधीशलाई आग्रह गरेका थिए । अधिवक्ता पन्तको आग्रह लगत्तै सहकारी पीडिततर्फका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रतिवाद गरेका थिए । उनले थुनछेक आदेशबाटसमेत रवि पुर्पक्षका लागि जाने व्यक्ति भएकाले उनलाई प्रहरीकै जिम्मामा छाडिदिनु पर्ने तर्क गरेका थिए ।

यसक्रममा दुई अधिवक्ताबीच न्यायाधीशकै अगाडि घम्साघम्सीकै अवस्था भएपछि न्यायाधीश अधिकारीले हस्तक्षेप गरेका थिए । न्यायाधीश अधिकारीको हस्तक्षेपपछि रवि आफैँ इजलास नजिक पुगेर आदेशको आफूले सम्मान गर्ने बताएका थिए । सोमबार भएको थुनछेक बहसमा सरकारी वकिलतर्फका ११ जना र जाहेरवालाका तर्फबाट दुई जनालेसमय खर्चिएको र आफूहरुले पालो नपाएको लामिछाने पक्षका कानुन व्यवसायीले बताए । काठमाडौं जिल्ला अदालतले पनि कास्कीको आदेशलाई टेकेर निर्णय सुनाउनेमा विश्वस्त रहेको र न्याय पाउने लामिछाने पक्षका वकिलले आशा व्यक्त गरे ।

सोमबारको थुनछेक बहसमा न्यायाधीशले नै बहसको समय निर्धारण गरिदिएका थिए । रविको तर्फबाट एक दर्जन वकिलले बहस गर्ने सुरसार गरे पनि समय अभावका कारण पूर्वनिर्धारित सूचीलाई हेरफेर गर्दै पूर्वमहान्याधिवक्ताद्वय रमण श्रेष्ठ र डा. सुशील पन्तले बहस गर्ने भनिए पनि रवि पक्षको बहस भने बुधबार मात्र हुने भएको छ । यस्तै, दर्जनभन्दा बढी सरकारी वकिल बहस गर्न इजलासमा उपस्थित भए पनि न्यायाधीशले समय पावन्दी तोकेपछि केही सरकारी वकिल बहस नगरी फर्किएका थिए ।

बहसका क्रममा लामिछाने पूर्वगृहमन्त्री भइसकेका व्यक्ति भएकाले हिरासतमा नराखी बाहिर राख्दा प्रमाण नष्ट गर्न सक्ने सम्भावना जीवितै रहेकाले थुनामै राख्नु पर्ने सरकारी वकिलको दलिल थियो ।जाहेरवालाका तर्फबाट बहस गरेका अधिवक्ताहरुले कास्की अदालतबाट आफूहरु अन्यायमा परेको भन्दै लामिछानेलाई थुनामै पठाउन पठाउन माग गरेका थिए । यस्तै, कास्की जिल्ला अदालतको आदेशमै काठमाडौं जिल्ला अदालतसामु सुम्पिनु भनिए पनि रवि आफैँले आदालतमा हाजिर हुन्छु भने पछि लचक बनेको प्रहरीमाथि सोमबार बेन्चमा प्रश्न उठेको छ ।

जाहेरवाला तर्फबाट बहस गर्ने अधिवक्ताले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका हुन् । सहकारीको रकम अपचलन आरोपमा लामिछानेविरुद्ध पोखरा र काठमाडौंका साथै अन्य तीन जिल्लामा पनि अनुसन्धान भइरहेको छ । जसले गर्दा पोखरापछि काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका उनले अन्य तीन जिल्लासमेत धाउनु पर्नेछ ।

यसअघि बयानका लागि उनलाई पोखराका साथै काठमाडौं, रुपन्देही, पर्सा र चितवन पु¥याइएको थियो । तर, न्यायालयले चाहेको खण्डमा बयानका लागि पाँचै जिल्लामा सुरक्षा फौजसहित दौडाउनुको सट्टा न्यायालयले समन्वय गरी एउटै अड्डाबाट न्यायिक निरुपण गर्न सक्ने पूर्वन्यायाधीशको भनाइ छ ।जिल्ला अनुसारकै अभियोजन र न्यायाधीशको इजलासअनुसारकै न्यायिक सम्पादनले रवि हैरान भएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश बताउँछन् ।

स्वर्णलक्ष्मी सहकारीकै मुद्दामा प्रतिवादी रहेका २ जना यसअघि नै धरौटी तिरेर छुटिसकेका छन्।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ ।लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जीबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।