हालको मन्त्रिपरिषद्मा सबैभन्दा चर्चामा रहेकी पात्र हुन्, पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बीआरआई सम्झौता उनका लागि भारी परिरहेको छ । यही कारण सांसद र छिमेकी देश भारतकोसमेत निसानामा आरजु पर्न थालेकी छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गर्छन् । तर, असली नेतृत्व भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको हो । यतिसम्म कि सरकार बनेको सुरुवाती दिनमा भारतसँग ओलीको चिसिएको सम्बन्ध सुधार्नसमेत उनै राणा लगेकी थिइन् । विश्वास पनि गरिएको थियो ।
अन्तर्राष्ट्रिय फोरमहरुमा गर्बिलो उपस्थितिले आरजुको हाईहाई थियो । अर्थात, बालुवाटारमा ओलीसँगै भान्सा सेयर गरेकोसम्मका किस्सा आरजुले सार्वजनिक रुपमै सुुनाएकी थिइन् । ओलीले पनि आरजुलाई नै लक्षित गर्दै भावी पहिलो महिला प्रधानमन्त्रीका रुपमै चर्चा गरिदिए । हुन त कांग्रेस–एमाले मिलनको शूत्राधार नै आरजु थिइन् । जसले शेरबहादुर देउवालाई डोहो¥याएरै बालकोट सम्झौतामा हस्ताक्षर गराएकी थिइन् ।
परराष्ट्रमन्त्री बन्नुलाई त्यसैको जसका रुपमा हेरिँदा पहिलो तीन महिना आरजुका लागि छलाङै छलाङको महिना बन्यो । विदेशी फोरममा गर्विलो उपस्थिति लगायतका कारण चर्चा चुलिएको थियो । तर, मंसिरमा भएको चीन भ्रमणपछि उनको छलाङमा अस्वभाविक सन्नाटा छाउन थाल्यो । त्यसको कारण बीआरआई सम्झौता थियो । एकातर्फ भारतले ओलीलाई भ्रमणको निम्तो नै नदिनु, ओलीले पहिलो भ्रमण चीनबाट गर्नु तथा भारत जाने भन्दै सार्वजनिक रुपमै आश्वास्त पार्नेजस्ता गतिविधि आफैँमा भारत झस्काउने गतिविधि थिए ।
त्यसमाथि अघिल्लो दिनसम्म सम्झौता नहुने भनिएको बीआरआई फ्रेमवर्कमा रातारात हस्ताक्षर भएपछि भारत झस्किएको देखिन्छ । यही बीचमा आरजु ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन पुस चार गते भारत गइन् । तर, कुनै पनि भारतीय नेताले भेट नदिए पछि आफ्ना रणनीतिमै आरजु असफलसिद्ध भइरहेकी छन् । किनकि ओलीलाई भारतको भ्रमण गराउनु नै आरजुको पहिलो योजना थियो । बीआरआईमा हस्ताक्षर गरेकै कारण भारतले भेट दिन नमानेको भूराजनीतिका जानकारहरु बताउँछन् । विदेशमा मात्र नभई नेपालमै समेत आरजु प्रश्नको घेरामा पर्न थालेकी छन् । यही सन्दर्भमा आरजु प्रतिनिधिसभाको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा त्यही भुंग्रोमा परिन् । बीआरआईबारे जवाफ दिन प्रधानमन्त्रीलाई नै बोलाइए पनि आरजु पुगेकी थिइन् । यद्यपि सांसदहरुले भने आरजुलाई होच्याउने शैलीमा ‘तपाईंलाई केही थाहा छैन, प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ’ भनेका थिए । आरजुले भने बीआरआई ऋणमा सम्झौता नभएको प्रष्ट्याइन् ।
राणाले भारतीय विदेशमन्त्रीसँग भएका गम्भीर संवादसमेत सार्वजनिक गरकी थिइन् । अहिले नेपालले सार्कको अध्यक्षता गरिरहेको छ । पाकिस्तानले गर्नुपर्ने भए पनि भारतले नमान्दा नेतृत्व हस्तान्तरण भएको छैन । सन् २०१६ मा आफ्ना सैनिकहरुमाथि आक्रमण भएको र त्यसमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाउने गरेको छ । भदौ ३ गते भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा आरजुले सार्क बैठक आयोजनाबारे कुरा उठाएको बताइन् । तर, जयशंकरले भने आफैँमाथि गम्भीर प्रश्न तेर्साउँदा आफू नाजवाफ भएको बताएकी छन् ।
आरजुका लागि राष्ट्रिय राजनीति परिस्थिति अनुकूल नै छ । किनकि ओलीपछि प्रधानमन्त्री बन्ने पालो शेरबहादुर देउवाको हो । यसैले आरजुको परराष्ट्रमन्त्रालय सुरक्षित रहने निश्चित थियो । अझ ओलीले त महिला प्रधानमन्त्री बनाउन चाहेको भनिदिएपछि आरजुलाई थप हौसला थपेको थियो । व्यक्तिगत सम्बन्धका कारण अमेरिकाको समेत विश्वास पात्र मानिने आरजु गत भदौमा भारतले समेत नसोचेको सम्मान दिएपछि हौसिएकी थिइन् । तर, त्यही धरातल देखाएर चीनसँग समेत हात लम्काउन खोजेकी आरजु निम्तो बिनै पुनः भारत पुगेपछि आफ्नै अल्लारे कुटनीतिको सिकार भइन् ।
विश्व राजनीति ध्रुवीकृत भइरहनु तथा भारत र चीनको सम्बन्धमा समेत नयाँ आयाम थपिएका बेला नेपालले भने पुरानै शैलीलाई कुटनीति चातुर्यता मानिरहेको छ । चीन र भारत मिलेर नेपाली भूमिमाथि हस्तक्षेप गर्दा आवश्यक विषय नठान्ने तर सरकार बनाउन र आशीर्वाद माग्न मात्र दिल्ली दौडने प्रवृत्तिको सिकार स्वयं आरजु भएकी छन् । यसले नेपाल–भारतबीच अविश्वासको खाडल थप गहिरो बन्दा आरजु र ओली नै अफ्ठ्यारोमा पर्ने सम्भावना पनि उत्तिकै छ ।
प्रतिक्रिया