राजनीति

ओलीको संकट टर्दा प्रचण्ड अफ्ठ्यारोमा


सत्ता गठबन्धनलाई लिएर विभिन्न हल्ला चल्दा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पनि दौडधुप बढेको छ । यो सरकारको आयुमाथि नै प्रश्न गर्न थालेका उनीहरु समाजवादी मोर्चा बलियो पार्नेदेखि विपक्षी एक बनाउनेसम्मका खेलमा लागेका हुन् । जहाँ सत्ता गठबन्धनका दलहरुले भने यो सरकार ढल्ने अवस्था नै नरहेको प्रष्ट्याउँदा किन सक्रिय भए त प्रचण्ड माधव ?

प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले नेपाली कांग्रेस झस्किएको अवस्थामा पोखराबाटरवि लामिछानेसमेत रिहा भएको दिन विपक्षीहरु एकाएक सक्रिय बने । जसको अग्र भागमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखिए भने उनीहरुको सक्रियता रोचक थियो ।

घटनाक्रम अनुसार २५ र २६ पुसमा प्रचण्ड र नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा माओवादीका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता वेदुराम भुसाल पनि सहभागी थिए।पुस२६ गतेको भेटवार्तामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भए । जुन भेटवार्तामा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भएको नेताहरू बताउँछन् ।

तर यो बीचमा कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको साथ नछोडने बताइसकेका छन् । त्यस्तै, प्रधानमन्त्री ओलीले संविधान संशोधनको आफ्नो भनाईबारे देउवालाई प्रष्ट पारिसकेका छन् भने विपक्षीको दौडधुपले तत्काल नतिजा नदिने पक्का जस्तै छ । फलतः प्रचण्ड, माधवको सक्रियता किन भन्ने प्रश्न यसले उब्जाउँदा कतिपयले यसलाई भूराजनीतिक कारणसँगसमेत जोडेका छन् ।

जुन कोणबाट हेर्दा यो गठबन्धनलाई नत भारतले पत्याएको छ न त वामपन्थी एकता चाहने चीनले नै ओली बोकेर फाइदामा जाने अवस्थामा छ । यहि कारण प्रचण्ड र माधव फेरि समाजवादी मोर्चालाई सक्रिय बनाएर राजनीतिक शक्ति जुटाउने, विचार मिल्नेसँग एकता गर्ने नभए मोर्चा बनाएर सत्ता गठबन्धनलाई घेर्ने रणनीतिमा रहेका छन् ।

जहाँ प्रधानमन्त्री दिए देउवा नयाँ समीकरणमा आउने माधवको आश्वासनले समेत प्रचण्ड हौसिएको चर्चा छ । तर देउवाले दोहोरो खेल खेल्दै ओली बोकेपछि उनीहरुको प्रयासले गति समात्न सकेन भने यो सरकार जोगाउन लागि परेका रमेश लेखक र गगन थापा जस्ता कांग्रेसका नेताहरु ढाल बनेर उभिएका छन् ।

उनीहरुको सक्रियताले ठूलो सफलता नदिएपनिदेउवा फकाएकै कारण साना दल विभाजन गर्ने अध्यादेश रोक्न उनीहरु सफल भइसकेका छन् । त्यस्तै संविधान संशोधनको बहसले पनि मधेशकेन्द्रित दलहरू फेरि एकै मोर्चामा आउने सम्भावना देखिएको छ । अर्कातर्फ सत्तापक्षबाटै ५ प्रतिशतको थ्रेसहोल्डको बहस सुरु गरिएकाले मधेशवादीलगायतका साना दलहरू एक ठाउँमा आउने अवस्था रहँदा यही शक्ति सञ्चयको खेलमासमेत प्रचण्ड माधव देखिन्छन् । यसबाहेक कुलमान घिसिङ हटाउने विषयमा पनि उनीहरु सक्रिय हुनुको अर्को कारण बन्दा त्यहीबवेला कास्की जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गरेपछि नयाँ तरंग सिर्जना भएको थियो ।

हुन त समाजवादी मोर्चालाई बलियो बनाउन प्रचण्ड माधवलाई त्यति सहज छैन । किनभने पार्टी फुटाइदिएका कारण उपेन्द्र यादव रुष्ट रहँदा उनीहरु भने जसपाका दुवै घटक मिलाउने खेलमा छन् । जसको जिम्मा माधवले पाउँदा उनीहरुको संख्या सत्ताका लागि निर्णायक हुने अवस्थाको समेत छ । तर कि त एमाले कि कांग्रेसले नै नछाडेसम्म सत्ता नढल्ने अवस्था रहँदा यो प्रचण्ड माधवको सक्रियता सत्ताखेल वा वाम धुव्रीकरणको प्रयास भन्दा पनि शक्ति सञ्चय भएको मात्र पक्का छ ।