भारतको प्रयागराजमा हिन्दू धर्मावलम्बीको महाकुम्भ मेला सुरु भएको छ । यसपटकको महाकुम्भ मेला १ सय ४४ वर्ष पछि दुर्लभ खगोलीय संयोजन रहेको मानिएको छ ।
आजदेखि सुरु भएको मेला आगामी फागुन १४ गते (महाशिवरात्रिका दिन)मा समाप्त हुनेछ । मेला हेर्न विश्वभरबाट ४० करोड भक्तजन आउने अपेक्षा गरिएको छ ।
भारतको उत्तरप्रदेश राज्यस्थित प्रयागराजमा हिन्दू धर्मावलम्बीको महाकुम्भ मेला सुरु भएको छ । गंगा, यमुना र सरस्वती नदीको संगममा रहेको स्थानमा हुने मेला हरेक तीन वर्षमा लाग्ने गर्दछ । तर, १२ वर्षको अन्तरालमा हुने कुम्भ मेलालाई महाकुम्भ भनिन्छ । महाकुम्भ मेला प्रयागराज, नाशिक, हरिद्वार र उज्जैनमा पालैपालो आयोजना गरिन्छ । तर यो पटकको मेला १ सय ४४ वर्ष पछि दुर्लभ खगोलीय संयोजनमा भएको महाकुम्भ मेला भएको उल्लेख छ । मेला पुस २९ देखि सुरु भई आगामी फागुन १४ (महाशिवरात्रिका दिन) समाप्त हुनेछ ।
मेला हेर्न विश्वभरबाट ४० करोड भक्तजन आउने अपेक्षा भारत सरकारको छ । पौष पूर्णिमाको पहिलो स्नान सुरु भएको मेलामा सोमबार मात्रै डेढ करोड भक्तजनले स्थान गरेका छन् । यस अवसरमा हेलिकप्टरमार्फत श्रद्धालु भक्तजनमाथि २० क्विंटल फूलको वर्षा गरिएको थियो ।
१४ जनवरी अर्थात मङ्गलबार (मकर संक्रान्ति) कुम्भको पहिलो शाही स्नानको दिन हो । यसदिन करिब एक करोड भक्तजन प्रयागराज पुग्ने अनुमान गरिएको छ । सोमबार नै एप्पलका सहसंस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेर पुजा गरेकी छन् । कुम्भमेलामा लाखौं मानिसहरूले कल्पवास गर्छन्, जसलाई ‘कल्पवासी’ भनिन्छ । यी मानिसहरूको प्रयागराज पुग्ने प्रक्रिया विगत केही दिनदेखि चलिरहेको छ ।
कुम्भमेलामा स्नान गर्न विदेशी भक्तजनको समेत भिड लाग्ने गर्दछ । स्थानीय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन मेला हेर्न आउने छन् । संगमका प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भिड लागेको छ । भक्तजनको भिडले सवारी साधनको प्रवेश बन्द गरिएको छ । भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन् ।
सुरक्षाका लागि ६० हजार सैनिक खटिएका छन् । सो क्षेत्रमा एक हजार प्रहरी खटाएर चेक पोस्ट राखिएको छ । भारत सरकारले महाकुम्भ मेला आयोजनाका लागि सात हजार करोड भारतीय रुपैयाँ खर्च गरेको बताएको छ । मेलामा आउने तीर्थालुका लागि एक लाख ६० हजार टेन्ट, एक लाख ५० हजार शौचालय, १२ सय ४९ किलोमिटर लामो खानेपानीको पाइपलाइन बिछ्याइएको छ । महाकुम्भका लागि भनेर चार हजार हेक्टर क्षेत्रफलको अस्थायी सहर बनाइएको छ । प्रयागराजमा विगत २५ वर्षदेखि भक्तजनलाई ज्योतिषसहित कल्पवास प्रदान गर्दै आएका पण्डित रमेश पाण्डेले कल्पवास एक महिना अर्थात ३० दिन मात्रै हुने बताए ।
सन् २०१७ मा युनेस्कोले महाकुम्भ मेलालाई ‘मानवताको अमूर्त सांस्कृतिक सम्पदा’ भनेर अथ्र्याएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाकुम्भ मेला धार्मिक र सांस्कृतिक रूपमा सबैभन्दा धेरै मानिस भेला हुने मेलाको रुपमा लिइएको छ । सन् २०१३ मा भएको महाकुम्भ मेलामा भिड तितरबितर हुँदा ३६ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए । तर, यस पटकको महाकुम्भ मेलामा सुरक्षाको राम्रो व्यवस्था मिलाइएको सम्बन्धित अधिकारीहरुको दाबी छ । दुई हजार ७०० भन्दा बढी सीसीटीभी राखिएका छन् । आकाश र पानीभित्र १०० मिटरसम्म पुग्ने गरी ड्रोनको समेत व्यवस्था गरिएको उत्तर प्रदेश सरकारले बताएको छ । यही मेलाका लागि भनेर भारत सरकारले विशेष रेल्वे र बस सेवासमेत सुरु गरेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसहित ‘मानवताको अमूर्त सांस्कृतिक सम्पदा’ सन्देशसहितका होर्डिङहरू विभिन्न ठाउँमा राखिएका छन् । विभिन्न सन्त मुनीहरुको पोस्टरले सहर ढाकिएको छ । विभिन्न अखडाबाट आएका साधु सन्तहरू शाही थाप र प्रदर्शनका साथ कुम्भमेलामा प्रवेश गरिरहेका छन् ।
यस अवसरमा उनीहरुको साथमा हात्ती, घोडा, ऊँट र नाचगान गर्दै सयौं भक्तजनहरु आउने गर्दछन् । सन्तको दर्शन गर्न सडकमा जताततै मानिसको भीड लागेको देखिन्छ, जसका कारण एक किलोमिटरको दुरी पार गर्न सवारी साधनलाई घन्टौँ समय लाग्ने गरेको छ ।
दानव र भगवान् विष्णुबीच अमृतका लागि लडाइँ हुँदा अमृतको घडाबाट केही थोपा अमृत प्रयागराज, नाशिक, उज्जैन र हरिद्वारमा खसेको विश्वास गरिन्छ । यही विश्वासका आधारमा गंगामा डुबुल्की लगाएमा पाप पखालिने र आत्मा शुद्धीकरण हुने जनविश्वास रहिआएको छ ।
प्रतिक्रिया