Breaking

झनझन् पेलिँदै माधव, ओलीसँग भिड्नै सकेनन्, भीम रावलले पत्याएनन्


कुनै समय पार्टी र देशकै पकड आफ्नो हातमा राख्ने माधवकुमार नेपाल समयक्रमसँगै ओझेलमा पर्दै गएका छन् । राष्ट्रिय राजनीतिमा सक्रिय हुँदाहुँदै पनि सबैको बेवास्तामा परेका उनको राजनीतिक छवि नै गुमनाम जस्तै हुन पुगेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस १३ गते सामाजिक सञ्जाल फेसबुकमा दुई वटा फोटो साझा गरे । तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगका तस्वीरसँगै माधवले “इतिहास हो तर धेरै पूरानो होइन…” भन्दै क्याप्सन पनि राखेर पोष्ट्याएका थिए । पहिलो तस्वीर थियो, उनी चितवनको शक्तिखोरस्थित माओवादी क्यान्टोनमेन्टमा शान्ति प्रक्रियाअन्तर्गत सेना समायोजनको प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीको हैसियतमा अवलोकनमा सहभागी भएको र दोस्रो कांग्रेस सभापति कोइरालासँग तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रतिगमनविरूद्ध संसद् पुनः स्थापनाको माग गर्दै गरिएको आन्दोलनको ।

फरक फरक समयका दुई तस्वीर एकसाथ पोष्ट गरेर माधवले इतिहासमा कसको भूमिका बढी छ भनेर देखाउन खोजेको रुपमा अथ्र्याइएको छ । राष्ट्रिय राजनीतिमा आफ्नो ठूलै हैसियत बनाएको भए पनि अहिले सबैको बेवास्तामा पर्दा उक्त फोटोमार्फत नै नेपाली राजनीतिलाई यहाँसम्म ल्याउनुमा आफ्नो प्रमुख भूमिका रहेको भन्ने सन्देश दिन उनले खोजेका हुन् । नेपाली राजनीतिमा सक्रिय बन्दाबन्दै पनि ओझेलमा पर्न थालेका उनै पूर्वप्रधानमन्त्री माधवको राजनीतिक छवि गुमनाम जस्तै बन्न पुगेको छ ।

माधवलाई आफू र पार्टी दुवैलाई पुनः मुर्झाउने अवसर मिल्दामिल्दै पनि त्यसको सदुपयोग गर्न उनी चुकेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बढ्दो असन्तुष्टिको लाभ माधवले लिन सक्नु पर्ने भए पनि उनी थप चुकिरहेका छन् । एउटै पार्टीमा दशकौं लामो सहयात्रा गरेर आफ्नै प्यानलबाट उपाध्यक्ष बनेका डा.भीम रावललाई पार्टीमा ल्याउन कोसिस गरे पनि त्यसमा उनी सफल हुन सकेनन् ।

त्यस्तै वामदेव गौतमलाई पार्टीमा भित्र्याउने कसरत भइराखे पनि अझै त्यसलाई टुंग्याउन सकेका छैनन् । बरु, एमालेले वामदेवलाई रोक्न कै लागि केन्द्रीय कमिटी बैठकले विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेको छ । सहकारी, शिक्षा, अर्थतन्त्र प्रत्येक क्षेत्रमा सरकारप्रति नागरिकको असन्तुष्टि बढ्दै गए पनि प्रतिपक्षीको भूमिकामा रहेका माधवले त्यसलाई एजेण्डा नै बनाउन सकेका छैनन् । एजेन्डाविहीन देखिएका माधवले ओलीको ड्यामेजको फाइदासमेत उठाउन सकेका छैनन् ।

सरकारमा रहुञ्जेलसम्म माओवादीको प्राथमिकतामा पर्ने गरेका माधव सत्ताबाट बाहिरिएपछि भने बेवास्ताको भूमरीमा परेका छन् । आफैँबाट चोइटिएर गएका माधव एमालेको प्राथमिकतामा पर्ने त कुरै भएन । भर्खरै दुई कम्युनिष्ट दल माओवादी र एमालेले केन्द्रीय कमिटीको बैठक समापन गरे । त्यसमा माओवादीले विप्लवका साथै माधवसँग पनि एकता गर्ने उल्लेख गर्दा घनीभूत छलफलमा जुटेका एमालेका नेताहरूको मुखबाट एकताको कुनै पनि शब्द सुन्न पाइएन । एमालले भइरहेको ड्यामेज कन्ट्रोल कै लागि भए पनि माधवप्रति नरम देखिनु पर्ने भए पनि ओलीबाट त्यस खालको व्यवहार प्रस्तुत हुन सकेन ।

यद्यपि, एमाले केन्द्रीय कमिटी बैठकले माधवलाई नै लक्षित गरी पार्टी एकताको विषय नउठाए पनि पार्टीबाट अलग भएर गएकाहरुलाई एमालेमा फर्किन आह्वान ग¥यो । पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा एमालेले सबैलाई एकजुट हुन आह्वान गर्नुले प्रचण्ड र देउवाबाट किनारा लागेका माधवको कतै ओलीसँग पुनर्मिलनको सम्भावना त बढ्दै गएको छैन ? भन्ने प्रश्न पनि उब्जाइ दिएको छ । तत्काललाई ओली–माधवबीच पुनर्मिलनको सम्भावना कमजोर देखिए पनि भविष्यमा यसलाई नकार्न सक्ने अवस्था भने छैन । नेकपा एमालेमा १५ वर्षसम्म एकछत्र राज गरेका माधवले नेपाली राजनीतिमा खेलेका भूमिकाप्रति उनी आफैंले अहिले प्रमाण पेस गर्नु पर्ने अवस्था आएको छ । पार्टी र देशको नेतृत्व सम्हालिसकेका माधव अहिले भित्तामा झुण्ड्याइने घडीको पेण्डुलम जस्तै बनेका छन् ।