राजनीति

प्रचण्डले माओवादीमा देखेको दलाल को हो ? सम्पत्तिको मोह त्याग्ने


नेकपा माओवादी केन्द्रको दुई दिनदेखि काठमाडौंमा छैठौं पूर्ण केन्द्रीय समितिको बैठक जारी छ । बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सुधार्ने खाका प्रस्तुत गरेका थिए । माओवादीले आफ्नो धरातल बिर्सिएको आत्मसमीक्षासहित छलफल जारी राखिरहँदा के साच्चिकै माओवादी सुध्रिने बाटोतर्फ लागेकै हो त ?


नेताको जीवनशैली फेरिँदा पार्टी बिग्रिएको आत्मसमीक्षासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई रुपान्तरण गर्ने तरखरमा अघि बढेका छन् । सत्ता केन्द्रित हुँदा माओवादी बिग्रिएको अध्यक्ष प्रचण्डले स्वीकार गर्दै विगतमा भएको गल्तीबाट पाठ सिक्दै आन्दोलनलाई बलियो बनाउने र पार्टीलाई एकताबद्ध बनाउन प्रचण्डसहितका माओवादी पंक्ति सक्रिय देखिएका हुन् । काठमाडौंमा जारी पार्टीको छैठौं पूर्ण केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको समसमायिक राजनीतिक प्रतिवेदनदेखि पार्टी सङ्गठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्ठको प्रतिवेदन पेश गरेसँगै माओवादी सुधार्ने खाका प्रस्तुत गरे । आइतबारदेखि चार दिनसम्म चल्ने बैठकमा अहिले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको र त्यसमा बोल्ने सबै नेताहरूले अध्यक्षकै बोलीमा लोली मिलाइरहेका छन् । उनीहरू सबैको आवाज एउटै भए पनि सबैभन्दा पहिले माओवादीले आफैँलाई रुपान्तरण गर्नु पर्ने देखिन्छ ।

जनताका लागि १० वर्ष जनयुद्ध लडेको बताउने माओवादीकै नेतृत्वमा गणतन्त्र स्थापना गर्दै मुलुकलाई यहाँसम्म ल्याए पनि आचरण बिग्रदा माओवादीले आफ्नो लोकप्रियतासमेत गुमाएको छ । रोग पत्ता नलगाएसम्म बिरामीको उपचार नहुने हुँदा अब माओवादी पार्टीभित्रको समस्या पत्ता लागिसकेको र त्यसैलाई समाधान गर्न पार्टी जुटेको नेताहरुको दाबी छ । जहाँबाट पार्टीको खस्कदो यात्रा थियो त्यहीबाट पुनः सुरु गर्ने योजनामा रहेको माओवादीले जनताप्रति उत्तरदायी हुँदै निम्न वर्गप्रति फर्किने उद्घोष गरेको छ । जनतासँग जोडिन विचार नीति, कार्य योजना बनाएको माओवादीले हुलाकी र मध्यपहाडी राजमार्ग लक्षित अभियान नै चलाएर तीन महिने कार्यक्रममा जाने तय गरेको छ ।

प्रचण्डले माओवादीलाई चुस्तदुरुस्त बनाउन नेता तथा कार्यकर्ताको सम्पत्तिको हिसाब नै खोजी गरेका छन् । माओवादी जनताको पार्टी भएको नाताले पार्टीका नेताहरूले आफ्नो सार्वजनिक जीवनको बारेमा आमनागरिकलाई जानकारी गराउनु पर्ने छ । त्यसैले समग्रमा माओवादी नेताहरूको सम्पत्तिको स्रोत खोज्ने तयारी गरिएको देखिन्छ । निजी, पैतृक वा अरु कुनै बद्नीयत पूर्ण ढङ्गले आम्दानी गरेको सम्पत्तिको स्रोत फागुनसम्ममा केन्द्रीय कार्यालयमा ल्याउन तम्सिएको छ ।

माओवादीको बैठकमा पार्टीलाई सदृढीकरण गर्ने विषयले राम्रै प्राथमिकता पाईरहेको छ । एजेण्डा र दस्तावेजनहरूमा नेताहरूले पार्टीलाई पुनः पुरानै विरासतमा फर्काउने बताईरहेका छन् । तर, विगतमा पनि माओवादीले यस्ता दस्तावेजहरू नल्याएका होइनन् । नेपाली राजनीतिमा एजेण्डा र निर्णयहरू कागजमा नै सीमित हुने परिपार्टी हुँदा यसपटक भने माओवादीले सम्पूर्ण दस्तावेजहरूलाई कार्यान्वयनमा नै लाने बताएको छ ।

माओवादी पार्टी रुपान्तरणमा लागिसकेको भने पनि राष्ट्रको अभिभावक बनिसकेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा भूमिका दिन उद्यत देखिन्छ । पार्टीमा अहिले नै शक्ति सङ्घर्षको हानाथापले बेलाबखतमा आन्तरिक किचलो सतहमा आउने गरेको छ । नेतृत्वसँग असन्तुष्टि बढ्दा विशेष महाधिवेशनकै माग पनि उठिरहेको नै छ । दलालपूँजीपति र माओवादीबीचको भेद छुट्याउन नसक्ने अवस्था हुँदा पहिले नेतृत्व आफै रुपान्तरण हुन आवश्यक देखिन्छ ।

सत्ताबाट भुईंमा थचारिएपछि मात्रै बल्ल पार्टी बारे चिन्तित बनेका माओवादी नेताहरू चुनौतीपूर्ण बाटोबाट सम्भावनायुक्त बाटोतर्फ अघि बढ्न खोज्दै छ । तल्लो तहदेखि माथिल्लो तहसम्म नै सुधार्ने हुटहुटी बोकेका पार्टीपंक्तिले रुपान्तरण गर्न सक्यो भने आगामी यात्रा राम्रै होला । तर, एजेण्डा र दस्तावेजलाई बेवास्ता गर्दै फेरि पनि राजनीतिक स्वार्थमा नै रुमल्लिरहे यस्ता बैठकको उपलब्धि हात लाग्यो शुन्य नै हुने छ ।