काठमाडौँ – नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्याएरनपुर्याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।
आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।
नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।
यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका अधिकारीहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भएरनभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । स्थानीय तह र प्रहरी फौज रहेको स्थानहरुमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पले क्षति भयो कि भएन भनेर सबै स्थानीय तह र प्रहरी इकाइमा सम्पर्क गर्ने काम जारी रहेको बताए । सम्पर्क भएका स्थानमा भने अहिलेसम्म क्षतिको जानकारी नभएको उनले बताए ।
प्रतिक्रिया