Breaking

बदली भएको मौसम आजदेखि सुधार हुने


काठमाडौं । शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आज बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जनाएको हो । शनिबार राति पनि देशभर बदली रहेको र पश्चिम नेपालको कालीकोट, डडेलधुराको केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको जनाएको छ । त्यस्तै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाइएको छ । आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेश र कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तर मौसम सुधारोन्मुख रहेको जनाएको छ ।