अन्तर्राष्ट्रिय

पार्टीभन्दा माथि उठेर भारत बनाएका मनमोहन


काठमाडौँ – भारतको आर्थिक उन्नतिको शिल्पकारका रुपमा परिचित पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको विहीबार राति निधन भएको छ । भारतको आर्थिक उनन्तीमा कायापलट गरेका मनमोहनले ९२ वर्षको उमेरमा संसार छोडेका हुन् ।

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको हो । सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । वित्तमन्त्री हुँदा भारतमा आर्थिक सुधारमा आमूल परिवर्तन गरेको श्रेय सिंहलाई नै जान्छ । भारतीय अर्थ (वित्त)मन्त्री हुँदा होस् वा सन् २००४ देखि २०१४ सम्मको प्रधानमन्त्री कार्यकाल, आर्थिक सुधारसहितका महत्वपूर्ण कामहरुको श्रेय उनलाई जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी जवाहरलाल नेहरुपछि लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री चुनिने पहिलो भारतीय थिए । प्रधानमन्त्रीको रुपमा उनको दोस्रो कार्यकाल चर्चित रहयो । दोस्रो कार्यकालमा भ्रष्टाचारका कयौँ मामिला बाहिर आए । ती घोटालाका कारण सन् २०१४ को आमचुनावमा कांग्रेसलाई निकै ठूलो धक्का लागेको थियो । मनमोहन सिंह १९९१ मा भारतको अर्थमन्त्री हुँदा देशको आर्थिक अवस्था खराब थियो । उनको अप्रत्यासित आगमनले आर्थिक सुधारलाई उचाई दिएको थियो । उनले शिक्षाविज्ञ तथा एक सेवकका रुपमा मात्रै काम गरेनन् सरकारको आर्थिक सल्लाहकारसमेत बनेर योगदान गरेका थिए । उनी भारतीय रिजर्ब बैंकको गभर्नरसमेत बनेका थिए । वित्त मन्त्री हुँदा उनले ट्याक्समा कटौती गरे भने सरकारी कम्पनीहरुलाई निजीकरण गर्दै वैदेशिक लगानी भित्र्याएका थिए ।

सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा तत्कालीन अविभाजित भारतको पन्जाब प्रान्तमा भएको थियो । भारत विभाजित भएपछि अहिले यो हिस्सा पाकिस्तानमा पर्दछ । पन्जाब युनिभर्सिटीमा अध्ययन पूरा गरेका उनले क्यानब्रिज विश्वविद्यालयबाट मास्टर्स गरेका थिए भने अक्सफोर्डबाट डी फिल गरेका थिए । सिंहकी छोरी दमन सिंहले आफ्नो किताबमा उल्लेख गरेअनुसार क्यानब्रिजमा अध्ययनका क्रममा सिंहले निकै ठूलो आर्थिक संकट झेल्नु परेको थियो । एक वर्षमा ट्युसन र बस्नका लागि सिंहलाई करिब ६ सय पाउन्ड खर्च आवश्यक पर्दथ्यो । तर पन्जाब युनिभर्सिटीको छात्रवृत्तिबाट उनले करिब १६० पाउन्ड मात्रै पाउँथे । जसले गर्दा बाँकी खर्च व्यवस्थापनका लागि उनका पितामाथि निर्भर हुनु पर्ने गर्दथ्यो । मनमोहन अत्यन्तै सादगी र सामान्य खर्चमा जीवन यापन गर्ने गर्दथे ।
मनमोहन सिंहका लागि प्रधानमन्त्रीको पद हासिल गर्नु एउटा संयोग थियो । उनलाई राम्रोसँग थाहा थियो कि आफ्नो राजनीतिक जनाधार छैन भन्ने । त्यसैले उनले भनेका थिए, ‘राजनेता बन्नु राम्रो कुरा हो । तर लोकतन्त्रमा राजनेता बन्नका लागि पहिला चुनावमा जित्नुपर्छ ।’

त्यसैले सन् १९९९ मा उनले लोकसभा चुनाव लडेका थिए । तर उनको पहिलो प्रयास विफल भएको थियो । उनी पहिलोपटक मै चुनावमा पराजित भए । यद्यपि, कांग्रेसले उनलाई राज्यसभामा पठाएको थियो । सन् २००४ मा पनि उनका लागि पहिलेकै अवस्था व्यहोर्नु प¥यो । यो पटक पनि उनले लोकसभा चुनावमा हार व्यहोरेका थिए । तर तत्कालीन कांग्रेस अध्यक्ष सोनिया गान्धीमाथि विदेशी मूलको नागरिक भएको भन्दै प्रश्न उठाइयो भने प्रधानमन्त्रीका लागि अस्वीकार गरियो । जसका कारण अप्रत्यासित रुपमा सोनिया गान्धीले गठबन्धन दलहरुको तर्फबाट मनमोहन सिंहलाई प्रधानमन्त्रीको रुपमा अघि सारेपछि उनी सत्ता नेतृत्वमा पुगेका थिए । सिंह भारतको इतिहासमा पहिलो सिख तथा गैरहिन्दु प्रधानमन्त्री बन्न सफल भए ।

उनको पहिलो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा अमेरिकासँग भएको परमाणु सम्झौता हो । त्यसबेला यो ऐतिहासिक सम्झौता थियो भने सम्झौताअनुसार अमेरिकाको परमाणु प्रविधिमा भारतको पहुँच पुगेको थियो । तर, त्यसको बदलामा तत्कालीन सरकारले ठूलो चुनौतीको सामना गर्नु परेको थियो । सिंहको सरकारलाई समर्थन गरेको वामपन्थी दलहरुले समर्थन फिर्ता लिए पछि सरकार संकटमा परेको थियो । जसका कारण सरकारमा बहुमत जुटाउन कांग्रेसले दोस्रो दलसँग सत्ता साझेदारी गर्नु परेको थियो । उक्त राजनीतिक उथलपुथलका क्रममा सरकार जोगाउन कांग्रेसले सांसदलाई किनेको आरोपसमेत खेप्नु परेको थियो । गठबन्धन सरकारमा रहेका दलहरुलाई उनले बुद्धिमतापूर्ण ढंगले मिलाएर अगाडि लैजान सफल भएका थिए । सन् २००९ मा भएको चुनावमा दोस्रोपटक जित हात पार्दै उनले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सम्हालेका थिए ।

जसले अर्थतन्त्रमा सुधार आउनुका साथै उद्योगको तीव्र विकास तथा महँगी नियन्त्रणमा सफलता मिलेको थियो । जसले गर्दा १९९० को दशकमा भारतमा उच्च आर्थिक वृद्धिदर हासिल भएको रकेर्ड छ । उनलाई आर्थिक उदारीकरणका नायक भनेर चिनाउने गरिन्छ । सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । शनिबार उनको अन्त्येष्टि गरिने भएको छ । भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनलाई देशका लागि ठुलो क्षति भएको बताएका छन् । ‘उनको निधनले राष्ट्रका रूपमा हाम्रो लागि ठुलो क्षति हो । विभाजनको त्यो अवधिमा धेरै गुमाएर भारत आउनु अनि जीवनको हरेक क्षेत्रमा उपलब्धि हासिल गर्नु सामान्य कुरा होइन’ शोक सन्देशमा उनले लेखका छन् ।