समाचार

कैलालीमा अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ


काठमाडौं — कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका– ३ ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा यूपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन, ल्यापटप, मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र १ हजार २८० भारतीय रुपैयाँ बरामद गरिएको कैलाली प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।