राजनीति

आरजु : देशभन्दा विदेशमा धेरै ! भारतमा फेरि मोदीसँग भेट्द


परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा यतिबेला भारत भ्रमणमा व्यस्त छिन् । जर्मनीको बर्लिनबाट सिधैँ दिल्ली ओर्लिएकी राणाको भारत भ्रमणको एजेन्डा नेपाल–भारत आर्थिक सम्मेलनमा सहभागी हुनु रहे पनि अन्तर्यमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमणको ताकेता रहेको बुझ्न सकिन्छ । परराष्ट्रको कुर्सी सम्हालेपछि कुटनीतिक सक्रियतालाई नयाँ उचाई दिएकी राणाले प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको साइत जुराउन सफल होलिन् ? सबैमा चासो बढिरहेको छ ।

पहिलोपटक प्रत्यक्ष चुनाव हारेपछि दोस्रो पटक प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार सिफारिस भएसँगै सजिलो बाटो समानुपातिकतर्फबाट सदन छिरेकी कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवा अहिले परराष्ट्रमन्त्री छिन् । विगतमा आफ्नो स्तरहीन भाषणबाजीले विवादित राणा शरणार्थी प्रकरणदेखि टिकापुर जग्गा काण्डसम्म विवादित बने पनि पार्टीभित्र सबैको मन जित्दै दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटमा परराष्ट्रमन्त्री बन्न सफल भइन् । बदलिँदो ध्रुवीकृत विश्वराजनीति अझ अविश्वासको खाडलमा भासिएको छिमेक सम्बन्ध, झनै साँघुरिँदै गएको मुलुकको कुटनीतिक क्षेत्र र फरक विचार बोकेका दलहरु मिलेर बनेको सरकारको परराष्ट्रमन्त्री ।

यस्तो अवस्थामा परराष्ट्रमन्त्रालयको नेतृत्वदायी जिम्मेवारी लिनु उनका लागि कम चुनौतीपूर्ण पक्कै थिएन । आन्तरिक सत्ता समीकरण रिझाउँदै कुटनीतिक सक्रियता सशक्त बनाउन पनि उनलाई पटक्कै सहज अवस्था थिएन । तर, उनका लागि यो अवसर थियो र अवसरलाई जबरजस्त ढंगले सम्हाल्दै उनी अघि बढिन् । राणा परराष्ट्रमन्त्री बनेपछि मुलुकको कुटनीतिक क्षेत्र चलायमान भएको छ । नेपालमा रहेका कुटनीतिक नियोगहरुसँग दुई पक्षीय भेटवार्तालाई निरन्तरता दिइन् ।

यस्तै विदेश दौडाहमासमेत उनले रेकर्ड ब्रेक गरेकी छन् । भदौ २ गतेदेखि ५ गतेसम्म भारतको भ्रमण गरेकी राणा भदौ ३१ मा क्यानडा उडिन् । महिला परराष्ट्रमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन क्यानडाको टोरेन्टो पुगेकी उनी क्यानडाबाट सिधैँ न्यूयोर्क पुगिन् । न्यूयोर्कबाट सिधैँ असोज १६ मा उनी कतारको राजधानी दोहा ओर्लिन् । एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा सहभागी भएर असोज १८ गते उनी स्वदेश फर्किन् । मन्त्री भएको सय दिनको समीक्षामै चीनको भ्रमण गर्न नपाएको दुखेसो पोखेकी राणा गत मंसिर १३ गते बेइजिङ उडिन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कमाण्डर बनेकी राणा भ्रमणको तयारी स्वरुप बेइजिङ उडेकी थिइन् । मंसिर १५ गते स्वदेश फर्किएकी राणा मंसिर १७ गते पुनः प्रधानमन्त्री ओलीसँगै चीन पुगिन् । मंसिर २० गते स्वदेश फर्किएकी राणा मंसिर २२ गते नेदरल्यान्ड्स उडिन् ।

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा सहभागी भइन् । विभिन्न मुलुकका समकक्षी, कुटनीतिक नियोगका प्रतिनिधिहरुसहित दर्जनभन्दा बढी उच्चस्तरीय कुटनीतिक भेटवार्ता गरिन् । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय अदालत हेगमा जलवायु परिवर्तनका कारण भोग्नु परेको असर र पाउनु पर्ने क्षतिपूर्तिको मुद्दा उठायो । मन्त्री राणाले धनी र विकसित राष्ट्रहरूबाट भइरहेको कार्बन उत्सर्जनका कारण नेपालजस्ता हिमाली मुलुकमा परेको असरको जिम्मेवारी तिनै राष्ट्रहरूले लिनुपर्ने स्पष्ट सन्देश दिइन् ।

जर्मनीको बर्लिनमा नारीवादी परराष्ट्र नीतिमा जोड दिँदै नेपालले समलिङ्गी विवाहलाई मान्यता दिएको र संघीय जनगणनामा तेस्रो लिङ्गी समावेश गर्ने विश्वकै पहिलो देश बनेको विषय उनले राखिन् । बेल्जियमको ब्रसेल्समा युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रासँग भेट गर्दै जलवायु परिवर्तनको प्रभाव र नेपालले पाउनु पर्ने न्यायका पक्षमा उनले सहयोगको अपिल गरेकी छन् । युरोपेली आकाशमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध हटाउनसमेत पहल गर्न उनले आग्रह गर्न भ्याइन् । बिहीबार राणा जर्मनीको बर्लिनबाट सिधैँ दिल्ली ओर्लिएकी छन् । उनी सोमबार स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्री बनेको १ सय ६० दिनमा उनले ४५ दिन विदेश भ्रमणमा बेथित गरेकी छन् । नेपाल–भारत आर्थिक सम्मेलनमा अर्थमन्त्रीलाई बाइपास गरेर दोस्रो पटक भारत पुगेकी राणा प्रधानमन्त्री ओलीको भारत भ्रमणको निर्णायक सन्देश बोकेर मात्र स्वदेश फर्किने अड्कल काटिएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको साइड लाइन भेट गराउने सवालमा होस् या चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गराउने सवालमा । जलवायु न्यायको मागलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने सवालमा होस् या विपिन जोशीको उद्धारमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने विषयमा, परराष्ट्रमन्त्री राणाको कुटनीतिक कौशल र सक्रियता आफँैमा महत्वपूर्ण छ । यद्यपि, नेपाल र भारतको राजकीय भ्रमण अहिले उनका लागि परीक्षा बनेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई सत्तासँगसमेत जोडेर विश्लेषण भइरहेको छ । सरकार टिक्ने संकेत पाए मात्र भारतले ओलीलाई निम्तो दिने तर्क कतिपयले गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीको भारत यात्रा के हुन्छ विस्तारै थाहा हुने नै छ । प्रधानमन्त्री ओलीको भारत या मोदीको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउन सक्रिय उनी सफल होलिन् ? आम चासो बढिरहेको छ । तर परराष्ट्रमन्त्रीका हैसियतमा ‘इंगेजमेन्ट’ अर्थात् द्विपक्षीय वा बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरूमा राणा अब्बल देखिएकी छन् । भ्रमणको प्रतिफल खासै देखिएको छैन तर पनि नेपालको कूटनीति एवं बहुपक्षीय मञ्चहरूमा सक्रियता बढेको छ । दुईपक्षीय उच्चस्तरीय भेटवार्ता होस् या अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको मुद्दा उठाउने सवालमा राणाको भूमिका लोभ लाग्दो छ ।