अंकगणितले बलियो तर विभिन्न कारणले कमजोर सरकार चलाइरहेका केपी शर्मा ओली घेराबन्दीमा पर्न थालेका छन् । आन्तरिक र भूराजनीतिक दुबै पक्षबाट देखिने गरेर दवाव भोगिरहेका उनी दुई तिहाइको सरकारमा इन्जोय गर्न सकिरहेका छैनन् । आखिर कसरी बढ्दै छ त उनको सकस ?
सार्वजनिक अभिव्यक्तिमा प्राय सरकारको आयुबारे प्रष्टीकरण दिइरहने प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार बलियो रहेको बताउँदै आएका छन् । अंकगणितीय धरालतका दृष्टिबाट हेर्ने हो भने वास्तवमा उनले यो प्रष्टीकरण दिने विषय पनि होइन । तर दुई तिहाइको सरकारमा इन्जोय गर्न नसकिरहेका उनले झिगाँको सरापले डिङ्गा नमर्ने भन्दै बारम्बार दिनु परेको प्रष्टीकरण कुन त्रासको उपज हो ? प्रश्न बलियो छ ।
यता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ पनि गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्छन् । ओलीकै भाषा बोल्ने मन्त्री गुरुङका अनुसार मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरहन्छ । यसबाहेक कुनै भूराजीतिक कुराको चर्चासमेत अफवाह भएको एमाले नेताहरुले नै बताउने गरेका छन् ।
अबको भ्रमण भारत हुने स्वयम् प्रधानमन्त्री ओलीले नै बताउँदा एमाले नेताहरुको भनाइमा भारतले निम्तो नदिनुसँग सरकारको आयु जोड्नुनै लघुताभास हो । तर उनीहरुको दाबीलाई माथ खुवाउने गरि ओली आन्तरिक र भूराजनीतिक सकसमा पर्न थालिसकेका छन् । भ्रमणको मेलोमेसो मिलाउन परराष्ट्रमन्त्री डा.आरजु राणालाई भारत पठाएका उनी भ्रमणको सुखद नतिजाको आशामा छन् ।
जसले आफू कति बलियो छु भन्ने भेउ पाउने अवस्थामा ओली रहँदा भारतले बिजुली निर्यातबाटै सन्देश दिइसकेको छ । अर्थात भारतले बिजुली निर्यातमा गरेको कडाइकै कारण नेपालमा औद्योगिक लोडसेडिङ शुरु भइसक्दा आरजुलाई नै बलियो पात्रका रुपमा अघि सार्ने खेलसमेत शुरु भएको छ ।
अहिले ओलीलाई मन्त्री फेर्नसमेत सहज छैन । जसका लागि पटकपटक चर्चा चल्दासमेत पछि हट्नुपर्ने उनको यो अवस्थाले आन्तरिक रुपमा उनको सकस प्रष्ट पारेको छ । त्यसबाहेकसुशासन र आशा जगाउन यो सरकार बनेको भाष्यसमेत फेल खाँदा काण्ड मिलाउन उनीहरु एक भएको विपक्षीको दाबीलाई नै बल पुगिरहेको छ । जहाँ रवि लामिछानेकै विषयमा समेत पटकपटक चुकेर सरकारले आफँैलाई बद्नाम गराउँदै गएको छ भने एकले अर्कालाई प्रयोग गर्ने दौडकै कारण एमाले काँग्रेसलाई गठबन्धन बाध्यता मात्रै भएको प्रष्ट हुन थालिसकेको छ ।
जुन प्रतिस्पर्धाकै कारण कतिपय निर्णयबाट सरकार पछि हट्ने अवस्थाले समेत सरकारमाथिको घेराबन्दी प्रष्ट पारेको छ । जहाँ नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाल नै सरकार जनताको आशाअनुसार चल्न नसकेको बताएका छन् ।
हुन त ओलीलाई चिनियाँ कित्तामा पु¥याउने काम भारतले नै गरेको बताउनेहरुपनि छन् । यसको अर्थ बाध्यताले राष्ट्रवादी बनेका उनको कदमले देशलाई केही नभएपनि आफैँ भने सकसमा परेका छन् । जसको मुख्य प्रभाव सत्ताच्युत हुने अवस्था बन्ने देखिँदा त्यसलाई रोक्नसक्ने कांग्रेस सभापति शेरबहादुर देउवा मात्र हुन् । जहाँ तत्काल अर्को विकल्प नहुँदा यो सरकार टिकाउनु देउवाकोसमेत बाध्यता हो । फलतः सत्ता लम्बिने ओलीको आशा खासै अस्वभाविक नभएपनि आन्तरिक र बाह्य दुवैतिरबाट पेलिएको उनको प्यारालाइज्ड सरकार कति राख्ने भन्ने बहस शुरु नहोला भन्न सकिँदैन ।
प्रतिक्रिया