राजनीति

ओलीसँग भिड्न माधवले वामदेव भित्र्याउँदै


सर्वाेच्च अदालतको फैसलाले तत्कालीन नेकपा फुटेर नेकपा एमाले तीन चिरा पर्दा खुम्चिएका दुई समूहहरू एक हुने तरखरमा छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई उनकै निवासमा गएर पार्टीमा आउन प्रस्ताव गरेसँगै गौतम माधवको पार्टीमा जाने चर्चा चुलिएको छ ।

पार्टी फुटको दुई वर्ष बितिसक्दा पनि औचित्य पुष्टि गर्न नसकेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल क्षीण भएको शक्तिलाई उकास्न निरन्तर लागि परेका छन् । कहिले नेकपा माओवादी केन्द्रको पछि लागेर सक्रिय राजनीतिको हिस्सा बत्रे कोसिस गर्छन् भने, कहिले नेकपा एमालेलाई देखाउनकै लागि भए पनि वामपन्थीहरूसँग कुम जोड्दै समाजवादी मोर्चाको नेतृत्वमा पुग्छन् । तर, माधवले अनेक तिगडम गरे पनि एमालेभन्दामाथि पुग्नुको त परैको कुरा छेउछाउसम्म पुग्न सकेका छैनन् । बरु, एमाले देशको कम्युनिष्ट पार्टीहरूमध्ये सर्वाधिक लोकप्रियमात्रै भएको छैन, अहिले देशकै नेतृत्व समेत गरिरहेको छ ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछार्न अनेकन् हत्कण्डा अपनाएका माधवको परिणाम भने हात लाग्यो शून्य नै छ । अझै पनि हरेस नखाएका माधवको प्रयासमा ब्रेक लागेको छैन । उनी अहिले एमालेबाट ओलीसँग बिच्चिएकाहरूलाई पार्टीमा भित्र्याएर शक्तिसञ्चय गर्ने दाउँमा छन् । माधवले एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमै पुगेर पार्टी प्रवेशका लागि प्रस्ताव गरेका छन् । पुस २ गते बसेको पार्टीको स्थायी कमिटी बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको थियो । निर्णय अनुसार नै माधव वामदेवलाई फकाउन उनको निवास पुगेका हुन् । आफू र पार्टीलाई शक्तिशाली बनाउन माधवले वामदेवसँगको ‘केमिष्ट्र’ खोजिरहेका छन् ।

गौतमलाई नेकपा एसको विधानमै व्यवस्था भएको ‘वरिष्ठ नेता’ मा व्यवस्थापन गर्ने तयारीमा माधव छन् । हाल एकीकृत समाजवादीमा सम्मानित नेताको हैसियतमा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल छन् । एमालेसँग विद्रोह गर्दा माधवलाई भरपुर साथ दिएका डा.बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेत तीन जना पनि वरिष्ठ नेताको हैसियतमा छन् । यद्यपि, पार्टीमा ल्याउन वामदेवको दैलोमै पुगेका माधव आफू र झलनाथपछि उनलाई तेस्रो वरीयता दिने सुरसारमा देखिन्छन् ।

नेकपा छाडेपछि राजनीतिबाट करिब करिब किनाराकृत भएका गौतमले एमालेमा फर्किने उत्कट चाहना राखेका थिए । गौतमले विगतका सबै गल्तीको पश्चाताप गरेर एमाले फर्किन तयार रहेको बताइरहेका बेला ओली र वामदेवबीच एमालेका पूर्वमहासचिव मदन भण्डारीका नाममा जुहारी परेकै बेला माधवले आफूतिर ल्याउन तीर हानेका हुन् । एमाले र एकीकृत समाजवादी दुवैसँग संवादमै रहेका वामदेव सक्रिय राजनीतिमा आउन चाहिरहेका थिए । कुनै बेला प्रचण्ड र ओली मिलाउने सूत्रधार बनेका वामदेव पनि आफ्नो राजनीतिमा घर न घाटको भएपछि सेफ ल्यान्डिङको खोजीमा थिए ।

नेकपामा विभाजन आएर एमाले र माओवादी पुरानै कित्तामा पुगेपछि माधवले पार्टी फुटाएका थिए । तर, गौतम कतै पनि नलागेर संयोजक भन्दै पार्टी एकता राष्ट्रिय अभियान थाले पनि त्यो निष्प्रभावी बन्न पुग्यो । यसै अभियानमा रहेका ७२ जनासहित गौतमले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने भएका हुन् । सार्वजनिक रुपमा वामदेव र ओलीबीच दोहोरी चल्दा दुवै एकअर्कासँग चिढिएका छन् ।

ओलीसँग भिड्ने मुख्य थलो नै एकीकृत समाजवादी हुने र राजनीतिक यात्राको नयाँ अध्याय पनि खुल्ने हुँदा वामदेवका लागि उत्तम विकल्प बन्दा माधवको पाटीमा जाने पक्का जस्तै छ । यता, माओवादीमा एकता गर्न पार्टी पदाधिकारीले नै असन्तुष्टि जनाएको र सरकारबाट बाहिरिसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत माधवको पार्टीप्रति खास्सै चासो देखाएका छैनन् । बरु, एकीकृत समाजवादीका नेताहरूलाई नै माओवादीमा मिसाउन खोजेपछि माधव झस्किएका छन् । त्यसैले माधव आफ्ना समकालीन प्रभावशाली नेतालाई पार्टीमा भित्र्याएर आन्तरिक र बाह्य राजनीतिमा शक्तिशाली बत्रे रणनीतिको रुपमा माधव र वामदेवको मिलनलाई लिइएको छ ।