काठमाडौं — मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।
यसअघि नै मुद्दा चलेका तर उपस्थित नभएका २५ जनाको हकमा मोरङ जिल्ला अदालतले उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरेको हो । सोही सहकारी प्रकरणमा जोडिएका अन्य १० जनाविरुद्ध भने यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । पक्राउ परेकाबाहेक २५ जनाको हकमा म्याद जारी भएको हो । लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
प्रतिक्रिया