काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झुटा विवरण दिएर भ्रष्टाचार गरेको पुष्टिसहित अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उजुरीमा सिलवालले नेपाल बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरहदबाट अनिवार्य अवकाश हुनुपर्नेमा ०८० साल साउन १६ गतेबाट ६६औँ वर्षमा प्रवेश गर्दा पनि पदमा बहाल नै रहेको उल्लेख थियो ।
आरोपमाथि अनुसन्धान हुँदा सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गते जारी नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख थियो । २०६६ वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा जन्ममिति २०१६ कात्तिक २२ गते उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्ममिति २०१५ साउन १५ गते उल्लेख छ । सिलवाल स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल)मा समेत ट्रान्सक्रिप्टको नै जन्ममिति २०१५ साउन १५ राखिएको छ । उनले सोही मितिका आधारमा २०४३ साउन १ गते राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्ति लिएको देखिएको छ ।
प्रतिक्रिया