Breaking

उपनिर्वाचन अपडेटः करिब ६२ प्रतिशत मत खस्यो,आजै गणना गरिने


काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि भएको निर्वाचनमा करिब ६२ प्रतिशतमत खसेको छ ।
मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको जनाएको छ । मतदान सकिएलगत्तै आजै मतगणनाको काम सुरु हुने आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

अधिकांश स्थानमा उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ । उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ मा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।