काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थान तथा देशभरका शिवालयहरूमा शतबीज छरिँदैछ ।
काठमाडौको पशुपतिनाथ क्षेत्रमा शनिबार बिहानैदेखि शतबीज (सतबिउ) छर्नेको घुइँचो लागेको छ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।
त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।
शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल हुन्छन्। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त भइने विश्वास छ। पशुपति क्षेत्रमा बत्ती बाल्न र सतबिउ छर्न नि.शुल्क गरिएको छ ।
प्रतिक्रिया