विगत ४० दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमुक्त गर्न रास्वपाका प्रमुख नेताहरुले दौडधुप बढाएका छन् । केही समयअघि उपसभापति डीपी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रविले पठाएको सन्देश सुनाएका थिए । ओलीले रविका मुद्दाका विषयमा सकेको सहजीकरण गरिदिने आश्वासनसमेत दिएका थिए । यसैक्रममा बुधबार बिहान रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलेप्रधानमन्त्री ओलीसँग भेट गरी पोखराबाट रविले पठाएको दोस्रो सन्देश सुनाएका छन् ।
‘खोदा पहाड, निक्ला चुहा’ भने झै रास्वपा सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधको आरोपमा ४० दिनसम्म हिरासतमा थुने पछि बल्ल प्रहरीले बलियो प्रमाण भन्दै लामिछानेले सहकारीको नाममा चेक काटेको विषय पत्ता लगाएको छ । छामिछानेले सहकारीको रकमबारे आफूलाई केही जानकारी नभएको भन्दै पन्छिदै आएको सन्दर्भमा उनकै हस्ताक्षरमा चेक काटेर सहकारीको ब्याज तिरेको प्रमाणलाई प्रहरीले ठूलो उपलब्धि ठानेको छ ।
लामिछानले तीनवटा सहकारीमा आफैँले हस्ताक्षर गरेका ४० वटा चेकमार्फक ब्याज तिरेको खुलेको प्रहरीले बताएको छ । कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र रूपन्देहीको सुप्रिम सहकारीमा रवि आफैंले ऋणको ब्याज तिरेको चेक प्रहरीले बरामदगरेको हो ।लामिछानेले सूर्यदर्शन सहकारीको ब्याज भुक्तानी गर्न १५ वटा चेकमा हस्ताक्षर गरेका थिए ।
लामिछानेले २०७८ वैशाख ५ देखि २०७९ असार ३१ सम्म २२ लाख ३७ हजार रुपैयाँको चेकमा हस्ताक्षर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रास्वपाका नेता, कार्यकताहरुले भने लामिछानेको चेक अनुसन्धान गर्ने प्रहरी र सम्बन्धित निकायबाट कसरी बाहिरियो भन्दै प्रश्न उठाइरहेका छन् । अदालतमा जारी अनुसन्धानको विषय प्रभावित हुने गरी सामाजिक सन्जाल र मिडियामा कसरी प्रमाणहरु छताछुल्ल भए भन्दै उनीहरु आक्रोशित बनेका छन् ।
बुुटवलस्थित सुप्रिम सहकारीमा पनि रविले नै पैसा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानबाट रविको हस्ताक्षरमा सुप्रिम सहकारीलाई १० वटा चेकमार्फत रकम भुक्तान गरेको देखिएको हो ।२०७८ असार ३ गतेदेखि २०७९ जेठ १७ सम्ममा १० वटा चेकमार्फत ४० लाख भुक्तान गरेको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि रविले नै ब्याज तिरेका थिए । प्रहरीले जुटाएको प्रमाणअनुसार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा १५ वटा चेकमार्फत ९३ लाख बुझाएको देखिएको छ ।२०७८ वैशाख १० गतेदेखि २०७९ असार ३१ गतेसम्ममा रविले हस्ताक्षर गरेको चेकबाटै स्वर्णलक्ष्मी सहकारीको रकम भुक्तान भएको खुलेको हो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार, रवि लामिछानेले २०७८ भदौ ४ गते सवारी ऋणका रुपमा स्वर्णलक्ष्मी सहकारीबाट व्यक्तिगत नाममा ४६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको खुलेको छ । उक्त रकममध्ये लामिछानेले १४ लाख ५६ हजार ३६७ रुपैयाँ तिरेको पनि देखिएको छ ।अझै ३२ लाख २१ हजार ६३३ रुपैयाँ तिर्न बाँकी देखिन्छ । त्यसबाहेक जीबी र रविको संयुक्त रुपमा अर्को सवारी साधन ऋणसमेत भएको भेटिएको छ । उनीहरूले सेभेन सिट भ्यानका लागि थप ४६ लाख ८८ हजार रुपैयाँ ऋण लिएको खुलेको हो ।
उक्त ऋण भने पुरै तिर्न बाँकी देखिएको छ । सहकारीको सदस्य नै नरहेका लामिछानेले सवारी साधन ऋण कसरी लिन भन्ने प्रश्न उब्जिएको छ । त्यसैका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेर काठमाडौं ल्याउने तयारी गरेको छ ।रविविरुद्ध प्रमाण जुटाउन सक्रिय काठमाडौं प्रहरीले यसैहप्ता उनलाई बयानका लागि काठमाडौं ल्याउने तयारी गरेको छ । उनलाई सोमबार नै काठमाडौं ल्याउने तयारी भए पनि ल्याइएन । रविलाई विभिन्न जिल्लाहरुबाट पक्राउ पुर्जी जारी हँुदा ती क्षेत्रमा रास्वपाले विरोधका कार्यक्रमहरु गर्दै आएको छ । सत्ता पक्षका नेताहरुले भने सरकारले निष्पक्ष रुपमा गरेको अनुसन्धानमा रास्वपाले अवरोध गरेको आरोप लगाउँदै आएका छन् ।
कास्की प्रहरी स्रोतका अनुसार,काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरे आइतबारदेखि छुट्टीमा भएका कारण बुधबार काठमाडौं नपठाइएको हो ।सहकारी ठगी संवेदनशील मुद्दा भएका कारण त्यसको अभियोजनकार्य कार्यालय प्रमुखको अनुपस्थितमा नगर्नु भन्ने संगठनको माथिल्लो निकायको निर्देशन रहेको बुझिएको छ । रास्वपाका उपल्लो तहका नेताहरु भने सभापति लामिछानेलाई हिरासतमुक्त गर्न निरन्तर सरकारसंग हारगुहार गरिरहेको देखिन्छन् ।
केही दिनअघि बालुवाटार पुगेका रास्वपाका उपसभापति डीपी अर्यालसंग प्रधानमन्त्री केपी शर्मा ओलीले रविका मुद्दाका विषयमा सकेको सहजीकरण गदिने आश्वासन दिएका थिए । यसैक्रममा बुधबार बिहान रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री ओलीलाई भेटेर पोखराबाट रविको पठाएको दोस्रो सन्देश सुनाएका छन् । परियारले प्रधानमन्त्रीसंग सभापति लामिछानेलाई हिरासतबाट निकाल्न सहयोगका लागि याचन गरेको खुल्न आएको छ । सहकारीबाट रकम ल्याएकोबारे जानकारी नभएको दाबी गर्दै आएका रवि आफैंले जारी गरेका चेक प्रहरीले फेला पारेपछि दबाबमा परेका छन् ।कुनै पनि संस्थाको नाममा चेक काटिएकोभन्दा पनि सो संस्थाको रकम अपचलनमा आरोपित व्यक्तिको संलग्नता कति छ भन्ने विषयतर्फ अनुसन्धान केन्द्रित हुनु पर्ने कानुनका जानकारहरुको तर्क छ ।
सहकारीको रकम मुख्यतःसञ्चालक र व्यवस्थापकहरुको मिलिभगतमा हिनामिना भएको देखिन्छ । तर सरकार भने सहकारीबाट कहाँ,कसले कति रकम लग्यो भन्दै व्यक्ति केन्द्रित अनुसन्धानमा समय खेर फालिरहेको छ । विदेशमा लुकेर बसेका सहकारी सञ्चालकलाई पक्रिएर नेपाल ल्याउने विषयमा भने सरकार गम्भीर बन्न नसकेको देखिन्छ ।
प्रतिक्रिया