काठमाडौं । आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ । अब धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने छ । गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै २ सय रुपैयाँ तिरेर चढ्नु पर्ने भएको हो ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २ सय रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् । सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
भुकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो । सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको छ ।
त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ ।
धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।
प्रतिक्रिया