Breaking

विदेशजस्तै देखियो न्युरोड, बोलन र कुलमानको सर्वसाधारणले गरे तारिफ


विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रलाई थप सुन्दर बनाउन काठमाडौं महानगरपालिकाले न्यूरोडको सडक पेटीको विस्तारसँगै तारबार र पोलहरू पनि हटाएको छ । विद्युत् प्राधिकरणले भूमिगत विद्युत् आपूर्ति सेवा प्रदान गरेपछि अनावश्यक पोल र तारहरू हटाइएसँगै अहिले न्यूरोडको स्वरुप नै फेरिएको छ ।

सङ्घीय राजधानी काठमाडौंको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको न्यूरोडको अहिले स्वरुप परिवर्तन भएको छ । मान्छेको भिडभाडले सधैँ अस्तव्यस्त हुने न्यूरोडको फुटपाथ विस्तार भएको छ भने विद्युतका पोलमा जथाभावी टांगिएका बिजुली, टेलिफोन तथा इन्टरनेटका गन्जागोल तार अहिले हटाइएको छ । बिजुलीका पोलका साथै ति पोलहरुमा पोको परेका तथा अव्यस्थित रुपमा टांगिएका तारहरु हटाइएसँगै न्यूरोडको स्वरुप परिवर्तन भएको छ ।

काठमाडौं महानगरपालिकाले पार्किङका लागि प्रयोग हुँदै आएको सडकमा फुटपाथ चौडा गराएको छ भने नेपाल विद्युत् प्राधिकरणले पनि भूमिगत विद्युत् वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति थालेपछि विगतमा कुरुप देखिने यो क्षेत्र अहिले सुन्दर देखिन्छ । असरल्ल टाँगिएका तारलाई भूमिगत गर्दा सुन्दर देखिएको छ भने, फुटपाथ विस्तारले पैदल यात्रुहरूले सहज ढङ्गले आवतजावत गर्ने वातावरण बनेको छ ।

प्राधिकरणले भूमिगत विद्युत् आपूर्ति थालेपछि महानगरपालिकाले अनावश्यक पोल, ट्रान्सफर्मर र तार हटाउन थालेको हो । प्राधिकरणले ओभरहेड वितरण लाइन र विद्युत् पोल हटाउने भन्दै इन्टरनेट, केबुल, अप्टिकल फाइबर, सीसीटीभी क्यामरा, सडक बत्ती लगायत संरचना र उपकरण अनिवार्य हटाउन सूचना जारी गरेको थियो । छ महिनाको अवधि दिएर प्राधिकरणले भूमिगत विद्युत् आपूर्ति थालेसँगै महानगरसमेत सक्रिय भएर विद्युत् प्रणाली नभएका पोल र त्यहाँ रहेका संरचना हटाउन थालेको हो । तारबार हटाउने काम प्राधिकरणकै भए पनि महागरले समन्वय गरेर प्राधिकरणलाई सहयोग गरेको छ । महानगर र प्राधिकरणको सहकार्यमा भएको यो कार्यले न्यूरोडको मुहार फेरिएको सर्वसाधारणले समेत महसुस गरेका छन् ।

न्यूरोडमा हुने ठूलो संख्याको भिडभाड र साँघुरो फुटपाथले महिला, वृद्धवृद्धालाई हिँड्डुल गर्न समस्या हुँदै आएको थियो । यही गुनासोलाई सम्बोधन गर्दै महानगरले पार्किङका लागि प्रयोग हुँदै आइरहेको सडकमा फुटपाथ बढाएको थियो । अहिले फुटपाथ बढेपछि सहजताका साथ पैदल हिँड्ने अवस्था बनेको छ । गुजुमुजु तारको मुनी हिँड्दा पनि नाकै ठोकिने गरिको विगतको अवस्थाबाट खुला आकाश मुनि निर्वाध रुपमा बिना कुनै समस्या यात्रा गर्न पाउँदा पैदल यात्रुहरू खुसी देखिन्छन् । जसले गर्दा विदेशका सडकमा हिँडेको जस्तै अनुभव हुने गरेको पैदल यात्रुहरू बताउँछन् ।

काठमाडौँमा घुम्न आउने पर्यटक होस् वा महानगरबासी नै किन नहुन्, अधिकांशको गन्तव्य स्थल बसन्तपुर दरबार क्षेत्र नै हुने गर्छ । ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको रुपमा रहेको वसन्तपुर प्रवेश गर्ने मुखय सडक नै न्यूरोड भएकाले फराकिलो सडक पेटी र खुला आकाशले यस क्षेत्रको सौन्दर्य थप बढेको छ । यसअघिदेखि नै न्यूरोडको फुटपाथ बढाउने विषयलाई लिएर महानगर र स्थानीयबीच ठूलो किचलो उत्पन्न भएको थियो । महानगरले फुटपाथ चौडा गर्न खोज्दा स्थानीय र व्यापारीहरूले त्यसको व्यापक विरोध गरेका थिए । जुन विरोध केन्द्र हुँदै अदालतसम्म पुगेर टुङ्गिएको थियो । विभिन्न बाधा अड्चन पार गर्दै न्यूरोडको स्वरुपमा आएको परिवर्तनले भने सबैलाई सुखी बनाएको देखिन्छ ।