Breaking

उपनिर्वाचन : रिक्त ४४ पदमा ४०७ जनाको उम्मदवारी


काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज देशभरका ४४ स्थानमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार देशभरका ४४ सिटका लागि ४ सय ७ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये २८६ राजनीतिक दल र १२१ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सबैभन्दा बढी धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षका लागि २१ जनाको उम्मेदवारी परेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षका लागि २०/२० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सबैभन्दा कम बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ र रुकुम पूर्वको पुथाउत्तर गंगा गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि ३/३ जनाको उम्मदेवारी परेको छ । कीर्तिपुरको प्रमुखमा एमालेका डाक्टर सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रबाट शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरि नेपाल समाजवादी पार्टी नेसपाका दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । मंसिर ५ गते दिउँसो अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आजैदेखि निर्वाचन आचारसंहिता लागु भएको छ ।