काठमाडौँ— रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट प्रवेश गर्ने भएका छन् । यसपटक लोकप्रिय मतमा पनि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उछिन्दै ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसविरुद्ध शानदार जित हात पार्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन अघि सबै मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । विजयपछि ट्रम्पले आफ्नो पहिलो सम्बोधनमा मतदातालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताएका छन् । उनले इजरायल र युक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन् । उनले आफ्नो जितलाई अमेरिकी जनताको जित भएको भन्दै जनताको भविष्यका लागि लड्ने प्रतिबद्धता जनाए । साथै उनले यस जितलाई अमेरिकाको स्वर्ण युगको रुपमा वर्णन गर्न भ्याए ।
साथै सिनेटमासमेत अकल्पनीय जित भएको उल्लेख गर्दै अमेरिकाका लागि जे जति आफ्नोतर्फबाट गर्न सकिन्छ त्यति गर्ने बताए । सम्बोधनका क्रममा ट्रम्पले आफूले यति ठूलो जितको अपेक्षा नगरेको उल्लेख गरे । उनले अब अमेरिकाको सबै समस्याको समाधान हुने जिकिर पनि गरे । ट्रम्पले यसअघि सन् २०१७ को जनवरी २० देखि २०२१ को जनवरी २० सम्म अमेरिकाको ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे । यसपछि २०२० मा भएको निर्वाचनमा ट्रम्पले पुरुष प्रतिस्पर्धी पाए । त्यतिबेला डेमोक्रेटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उम्मेदवार बने । बाइडेनले ट्रम्पलाई पराजित गर्दै ४६ औँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाले । अहिले भएको निर्वाचनमा भने ट्रम्पले पुनरागमन गर्दै ऐतिहासिक जित हासिल गरेका छन् । संयोगले यो पटक उनको प्रतिस्पर्धी महिला नै थिइन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी उपराष्ट्रपति कमला ह्यारिस अन्ततः ट्रम्पसँग पराजित भइन् । ह्यारिसले पनि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न सकिनन् ।
प्रतिक्रिया