यमपञ्चकको विशेष र अन्तिम दिन कार्तिक शुक्ल द्वितीया हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घयुको कामना गर्दै भाइटीका लगाइदिन्छन् । यस दिन कयौँलाई भाईपूजा कसरी गर्ने भन्ने द्विविधा रहेको पाइन्छ । तर, भाइ पूजा कै लागि भनेर शास्त्रमा विशेष पूजाको उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा छ । यस दिन प्रातः समयमा उठेर आफ्नो नित्यकर्मको समाप्तिसँगै भाइटीकाको सुरुवात हुने गर्छ । त्यसपछि सम्पूर्ण पूजा सामग्री आफ्नो समीप ल्याएर भाइपूजा गर्ने स्थानमा आई शुद्ध आसनमा बसेर कर्मपात्र निर्माणसहित प्रतिज्ञा सङ्कल्प गर्नु पर्ने शास्त्रमा उल्लेख छ । नियमानुसार दीप, कलश, गणेशको पूजा गरी यमको प्राणप्रतिष्ठा गर्नको निमित्त सानो पीठको निर्माण गर्नुपर्ने विधि छ । प्राणप्रतिष्ठा गरिएको पीठमा आह्वानम्, आसनम्, पाद्यमादि षोडशोपचारले यमको पूजा गर्नु शास्त्रले निर्दिष्ट गरेको छ ।
यमको पूजा गरिसके पश्चात् उनका दूतलाई प्रार्थना गर्दै स्मरण गर्नु पर्ने नियम छ । यमको दूतपछि बहिनी, यमुनाको प्रार्थना गर्ने र उनकी सहयोगीलाई पनि स्मरण गर्दै प्रार्थना गर्नु पर्ने विधि शास्त्रमा उल्लेख छ । हअयमको पूजा सकेर नवग्रहसहित पाञ्चायन देवताको जे उपलब्ध छ, त्यसैबाट पूजा गर्नुपर्छ । त्यसपछि धूप, दीप, नैवेद्य चढाउनु पर्छ । यति गरिसके पछि मार्कण्डेयसहित बलि, व्यास, हनुमान, विभीषण, कृपा, दौण र परशुरामको सम्झनासहित प्रार्थना गर्नुपर्छ । अष्टचिरञ्जीवीको प्रार्थना गरिसकेपश्चात् पुनः यमुनाको स्तुति गर्नुपर्ने उल्लेख गरिएको छ ।
यम र यमुनाको पूजा गरिसकेपछि भाइपूजा गर्नुपर्छ । त्यसका लागि पहिले आफ्नो दाजुभाईको दीर्घायु, धन, निर्भय, निरोग्य, सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त होस् भनी प्रार्थना गर्नुपर्ने शास्त्रोक्ति छ । भाईको जीवन रक्षार्थ ढोकामा ओखर फुटाई यम आगमनको निषेधार्थ यमको बाटो छेकिन्छ । यसरी फुटाइएको ओखरले भाइमा कुनै बाधा अड्चन नआउने जनविश्वास रहेको छ । संसारमा कहीँ कतै नभएको यस्तो संस्कृतिले परिवार र समाजमा सद्भाव राख्न ठूलो भूमिका खेलेको छ ।
यसैगरी यमराजको प्रतीकको रूपमा रहेको बिमिरोको पूजा गर्ने चलन पनि छ । केही मौलिकपन पनि मिसिएको यो पर्वमा दाई र भाई बसेको स्थानमा पानी, तेल र दुबोले सात घेरा हालेर रेखा कोरिन्छ । त्यसै गरी दिदीबहिनीले दाजुभाइको निधारमा लगाईदिने सप्तरंगी सात टीकाको पनि विशेष अर्थ छ । सेतो शान्ति, रातो मङ्गल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी, निलो निरोगिता, सुन्तला धैर्यता र प्याजी निर्भयको प्रतीकको रूपमा रहेकाले सप्तरंगी टीकाको महत्वलाई विशेष बनाएको छ ।
टीका लगाइसके पश्चात् सगुन स्वरूप दाजुभाइलाई दही खुवाइदिने चलन छ । दाजुभाईको स्वास्थ्यको ख्याल राखी फलफूल, मिष्ठान्न, रोटीको विभिन्न परिकार दिने दिदीबहिनीलाई लक्ष्मी, सरस्वती, ब्राह्मीको स्वरूप मानेर सप्तरङ्गी टीका लगाइदिने र दक्षिणा, वस्त्र दान गरी तृप्त पार्नुपर्ने बताइएको छ । यसरी सबैको पूजा गरी अन्त्यमा पुनः यमको स्तुति गर्दै अघ्र्य चढाई हामीले गरेको पूजामा केही गल्ती भएमा क्षमायाचनासहित भाइपूजा सम्पन्न गर्ने विधि छ ।
प्रतिक्रिया