काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।
सहकारी ठगी सम्बन्धमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कार्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न भएको लामिछानेले वयानमा भनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार, उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।
स्रोतका अनुसार, उनले सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको बताएका छन् ।
प्रतिक्रिया