Breaking

भाइटीकाकै दिन वर्षाको सम्भावना


भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताए ।

‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।’ उनका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ ।

सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो ।