Breaking

सरकारले वैदेशिक रोजगारीका क्रममा मुत्यृ हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढायो , अब १० लाख पाउने


काठमाडौँ— सरकारले वैदेशिक रोजगारीका क्रममा मुत्यृ हुनेको परिवारलाई दिने क्षतिपूर्ति रकम बढाएको छ ।

यसअघि, मृतकका परिवारलाई सात लाख रुपैयाँ दिने गरिन्थ्यो । सरकारले वैदेशिक रोजगारी नियमावली संशोधन गरेर अबदेखि मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने बनाएको हो ।

“वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम सात लाखबाट १० लाख पुर्‍याइएको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकार गठनको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै भने । बिरामी भई उपचार खर्च पाएपछि मृत्यु हुनेहरूलाई पनि क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ उपलब्ध गरिने उनले जनाए ।

“बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरूको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ,” प्रधानमन्त्री ओलीले सय दिनमा गरेको उपलिब्ध सुनाए ।

विदेशमा रोजगारी अनुमतिपत्र नभएकाहरू र यस वर्षको सेप्टेम्बरभित्र विदेशमा रहेकाहरूले नेपाली नियोगमा आवदेन दिएमा उनीहरूलाई वर्क परमिट उपलब्ध गराउने व्यवस्था गरिएको पनि उनले जनाए ।