Breaking

डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैन :मन्त्री खड्का


काठमाडौँ— ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् । आज मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र प्राधिकरणबीच कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् ।

उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणबीच छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको जानकारी दिए ।
मन्त्री खड्काले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने काम पनि भइरहेको बताए । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताए । सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकता महसुस नगरेको स्पष्ट पारे ।