अन्तर्राष्ट्रिय

सम्राट चाल्र्सलाई अस्ट्रेलियामा अपमान, सांसद नै झर्किइन


अस्ट्रेलियाको संसद्मा सम्बोधन गरेपछि बेलायतका राजा चाल्र्स तृतीयाले त्यहाँकी एक सांसदबाट विरोध खेप्नु परेको छ । स्वतन्त्र सिनेटर लिडिया थोर्पले बेलायतले अस्ट्रेलियालाई उपनिवेश बनाएको र नरसंहार गरेको आरोप लगाउँदै राजा चाल्र्सको चर्को विरोध गरेकी हुन् ।


अस्ट्रेलिया भ्रमणमा रहेका बेलायतका राजा चाल्र्स तृतीयाले विरोधको सामना गर्नुपरेको छ । राजा चाल्र्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए । यसैक्रममा एक सिनेटरले उनी विरुद्ध नारा लगाएर राजा नभई हत्यारा भएको आरोप लगाएकी थिइन् । उनले नारा लगाउँदै चाल्र्स आफूहरुको राजा नभएको बताइन् ।

सिनेटर लिडिया थोर्पेले राजा चाल्र्सको विरोध गर्दै भनेकी थिइन्, ‘तिमी हत्यारा हौँ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौँ ।’ उनले राजा चाल्र्सलाई आफ्नो भूमि, पुर्खाको हड्डी र कलाकृतिहरू मूल आदिवासीहरूलाई फिर्ता गर्न आग्रहसमेत गरेकी थिइन् । साथै सिनेटर लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै नारा लगाइन् ।

राजा चाल्र्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत लुगा लगाएर संसद भवन पुगेकी थिइन् । नाराबाजीपछि सुरक्षाकर्मीले उनलाई संसदबाट बाहिर निकालेका थिए । संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले अस्ट्रेलियाको औपचारिक प्रमुख राजा रहुन्जेल बेलायती साम्राज्यको विरोध गरिरहने बताइन् । उनले अरु देशका राजाले आफूलाई आदेश दिन नसक्ने तर्क गरिन् । लिडिया थोर्पे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट निर्वाचित स्वतन्त्र सिनेटर हुन् । उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन् ।


सन् २०२२ मा सिनेटरको शपथ लिँदा उनले बेलायती राजालाई ‘उपनिवेशिक महामहिम’ भनेर सम्बोधन गरेकी थिइन् । यसपछि उनलाई फेरि शपथ लिन भनिएको थियो । राजा चाल्र्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा अस्टे«लिया पुगेका हुन् । उनको यो भ्रमणमा पत्नी रानी क्यामिला पनि साथमा छिन् । अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भएको थियो । तर त्यहाँ संवैधानिक राजतन्त्र कायमै छ । अस्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ । यद्यपि, १९९९ मा भएको जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अस्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए । सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयाको मृत्युपछि अस्ट्रेलियामा बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ ।