Breaking

रवि पक्राउपछि धनराज–ऋषिकेश ‘टार्गेट’मा


सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेसँगै अहिले अर्काे एउटा मुद्दा पनि जबरजस्त रुपमा उठन थालेको छ । हजारौं सहकारी बचतकर्ताका करोडौं रकम अपचलन गर्ने कांग्रेस उपसभापति धनराज गुरूङ र एमाले नेता ऋषिकेश पोखरेललाई पनि कानुनी कठघरामा उभ्याउन माग सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि भन्दै प्रहरीले शुक्रबार साँझ पक्राउ गरेपछि देशभरको माहोल तातिएको छ।


कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि रातारात उनी प्रहरीको हिरासतमा पुग्दा देशैभरका हजारौं शुभचिन्तक सडकमा ओर्लिएका छन् । रविलाई गिरफतार गरेर प्रहरीले स्थलमार्ग बाट पोखरा लैजादै गर्दा शुक्रबार साझनै चितवनको मुग्लिनमा रविको समर्थन र सरकारको विरोधमा नाराबाजी चलेको थियो ।

शनिबार पनि काठमाडौं र पोखरामा समर्थकले प्रदर्शन गरेका छन् । रविको समर्थनमा उत्रिएको भीडले रविलाई निर्दोष करार गर्दै गर्दा,संगसंगै जोडदार रुपमा अर्को सहकारीको मुद्धा व्यूत्याएकाछन् ।

सहकारी घोटालामा आफ्ना नेता कार्यकर्ता जोगाउन रविलाई बलीको बोको बनाईएको भन्दै शुभेच्छुकले धनराज गुरुङ र ऋषिकेश पोखरेलको फोटोसहित उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेकाछन् । विरोध प्रदर्शनमा सडकमा आएका समर्थकहरुले गुरूङ र पोखरेल नै असली सहकारी ठग भएको दाबी गरेकाछन् ।

कांग्रेस उपसभापति धनराज गुरूङकी पत्नी ज्योती गुरूङ महाप्रबन्धक भएर ललितपुरमा सञ्चालन गर्दै आएको मितेरी सहकारीले १४ करोड ८१ लाख अपचलन गरेको छ । जसमा गुरूङ दम्पत्तिको नै सम्लग्नता रहेको दाबी छ । धनराजले सहकारीको रकम हिनामिनाको अपराधबाट जोगिन पत्नी ज्योति गुरुङसँग ‘कागजी सम्बन्धविच्छेद’ गरेको पुष्टि समेत भएको छ । २०७६ फागुन २९ मा नै ज्योतिसँग डिभोर्स भएको दाबी गर्दै आएका धनराजले त्यसको एक वर्षपछि मितेरी सहकारीबाटै थप १२ लाख ऋण लिँदा उनले हकदाबीवालाको नाममा ज्योतिलाई नै श्रीमती उल्लेख गरेका थिए ।

एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएको, तर गोर्खा मिडियामा आएको रकम परिचालनमा जिम्मेवार हुनुपर्ने निष्कर्ष निकाल्दा रवि जेल चलान भए ।

तर, त्यही समितिले ठगीमा प्रत्यक्ष जोडिएको भन्दै अनुसन्धान गरी कारबाही गर्न निर्देशन सिफारिस गर्दा समेत कांग्रेस उपसभापति धनराजले अहिलेसम्म उन्मुक्ति पाउँदै आएका छन् । संसदीय छानबिन विशेष समितिले दोषी ठहर गर्दै अनुसन्धान गर्न सुझाव दिँदा पनि राजनीतिक पहुँचले जोगिँदै आएका उनी कारबाही गर्ने ठाउँमा पार्टीकै गृहमन्त्री हुँदा राज्यसंयन्त्रकै संरक्षणमा बचिरहेका छन् ।

रविलाई सरकारले आफ्नो राडरमा पारेर क¥याप झ्याप पार्दा नेकपा एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलपनि पहुचकै भरमा जोगिरहेकाछन् । एमाले नेतृत्वको उनकै सरकार सत्तामा भएकाले पनि ऋषीकेशलाई अहिलेसम्म बाह्रहातको टांगोले छोएको छैन ।

ऋषीकेशकी श्रीमती अञ्जला कोइराला सञ्चालक भएको उमागौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको छ । २०६८ सालमा खुलेको सहकारीमा लामो समय सञ्चालक समितिरमा रहेर काम गरेकी अञ्जलाको नाम मात्रै समितिमा रहे पनि सबै काम ऋषिकेशले नै गर्ने गरेको नजिकबाट जान्नेहरु बताउँछन् ।

सहकारी डुब्दै गएपछि एमाले निकट रहेका सहकारीको अध्यक्ष शम्भुप्रसाद रौनियारसहित पदाधिकारी र सञ्चालक सदस्यविरुद्ध उजुरी दिए पनि राजनीतिक पहुँचकै आधारमा कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पोखरेलकी पत्नी अञ्जलाको नाम हटाएको थियो । २०७२ देखि ६ वर्षसम्म सञ्चालक भएर काम गरेकी अञ्जलाको नाम काटेर रजिस्ट्रारको कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ । अर्काे अचम्मत के छ भने ०६८ देखि अञ्जला सञ्चालक सदस्य रहेको मिति ०७८ सम्मका सबै सहकारीका कागजपत्रहरू गायब छन् । एउटै प्रकृतिकोे मुद्दामा रविलाई पक्राउ गर्नु तर, राजनीतिक आडमा गुरूङ र पोखरेललाई उन्मुक्ति दिनुले राज्यले प्रतिषोध साधेको विपक्षीदलका नेताहरुको आरोप छ ।

प्रमाण हुँदा हुँदै पनि सरकार आफ्ना दलका नेतामाथि अनुसन्धानको पक्रिया अघि बढाउन चाहँदैनन् । अझ गुरूङमाथि त छानविन समितिले अनुसन्धान गर्न सुझाव दिँदा दिँदै पनि सरकारले आलटाल गर्दै उन्मुक्ति दिन खोजिरहेको छ । हिजो रविलाई प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू हुँदै महान्यायाधिवक्ता र प्रहरी प्रमुखले नै बचाएका थिए । तर, अहिले उनी कानुनी कठघरमा उभिनु परेको छ । रविको पक्राउसँगै सबैभन्दा बढी उठेको धनराज र ऋषिकेशमाथिको प्रश्नमा सरकारले सम्बोधन गर्ला ? या दुई तिहाईको शक्ति देखाउँदै उन्मुक्ति देला ? त्यो भने हेर्न बाँकी नै छ । कानुन सबैको लागि बराबरी हो भन्ने मान्यतालाई स्थापित गर्ने हो भने, धनराज र ऋषीकेशमाथि नाकको चालले अनुसन्धान हुनुपर्ने देखिन्छ ।