अन्तर्राष्ट्रिय

हमासका हाकिम मारिएको दृश्य, इजरायललाई ठूलो सफलता, इरानको मौनता, अमेरिकाको उत्सव


काठमाडौँ— प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको भीषण आक्रमणका मुख्य योजनाकार याह्या सिनवार मारिएका छन् । लामो समयदेखि इजरायली सेनाको खोजी पछि उनी कारबाहीमा मारिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पुष्टि गरेका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै करिब एक वर्ष लामो खोजीपछि इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ ।


हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ । आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार, धेरै इजरायलीहरूको हत्या र अपहरणका लागि उनी जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायलको दाबी छ । सो आक्रमणका क्रममा करिब १२ सय हाराहारीमा मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर हमासले गाजातर्फ लगेको थियो । सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए ।


यसअघि उनी गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि हुन् । सन् १९८२ मा इजरायली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो । त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो । सन् २०११ मा इजरायलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो । त्यसमा सिनवार पनि परेका थिए । इजरायली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो जिम्मेवारीमा फर्किए । सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बने । उनको आतंककारी प्रवृत्तिलाई लिएर विश्व समुदाय आतंकित थियो । अमेरिकाले उनलाई सन् २०१५ मा ‘अन्तर्राष्ट्रिय आतङ्ककारी’ को सूचीमा राखेको थियो । यता सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसरसमेत भनेको छ ।


सन् २०२३ अक्टोबर ७ देखि हमास र इजरायली सेनाबीच युद्ध जारी छ । यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवारसमेत मारिएपछि हमासलाई झट्का लागेको छ । इजरायलका लागि सिनवारको हत्या गर्नु एउटा मुख्य लक्ष्य थियो । उनको मृत्यु भए पनि गाजा युद्ध अन्त्य नहुँने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् । नेतान्याहूले अक्षम्य अपराधका लागि दण्ड दिएको बताए पनि हमासले बन्धक बनाएका १०१ जना मानिसहरूलाई नछुटाएसम्म युद्ध जारी रहने उनले जनाएका छन् । “प्रिय बन्धकका परिवारहरू, म भन्छुः यस युद्धमा यो एउटा महत्त्वपूर्ण क्षण हो । तपाईंहरूका प्रियजन, हाम्रा प्रियजन घर नफर्केसम्म हामी पूरा बलसाथ लागिरहने छौँ,” नेतन्याहूले भनेका छन् । इजरायलमा बन्धकहरूका परिवारले अब युद्ध विराममा पुग्न सकिने र त्यसले बन्धकहरूलाई घर फर्काउने आशा व्यक्त गरेका छन् । इजरायलले हमासविरुद्धको युद्ध अभियानका क्रममा पछिल्लो नेतृत्व सिनवारको हत्या गरेसँगै हमास समूह कमजोर र विचलित भएको अनुमान गरिएको छ । यद्यपि, हमाससँगै हिजबुल्लाहतर्फ सोझिएको इजरायलका लागि भने अहिले नै आरामको सास फेर्ने अवस्था बनिसकेको छैन । लेबनानस्थित हिजबुल्लाहलाई पनि सिध्याइ छाड्ने अठोट लिएका नेतान्याहुका लागि इरान चुनौतीको पहाड बनेर उभिएकाले मध्यपूर्व तत्काल शान्त हुने सम्भावना देखिँदैन ।।