Breaking

अन्ततः छविले रवि तान्दै, पक्राउ गर्ने अन्तिम तयारी, लेखकको ग्रिन सिग्नलको पर्खाइ (भिडियो)


काठमाडौं । एकै प्रकृतिको सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी थुनामा पर्दा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने भने खुलेआम हिँडिरहेका छन् । यसले पूर्वगृहमन्त्रीलाई जोगाउन सरकारले नै भूमिका खेलिरहेको त होइन भन्ने प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको परीक्षासमेत सुरु भएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनको आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी महिना दिनदेखि प्रहरी हिरासतमा छन् । समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन पाएपछि प्रहरीले आफ्नै संस्थाका पूर्वडीआईजी जोशीलाई असोज ६ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सहकारी ऐन र संगठित अपराधको अनुसन्धानमा तानिएका जोशी महिना दिनदेखि थुनामा छन् । कास्की प्रहरी र सरकारी वकिलको कार्यालयले जोशीसँगको प्रारम्भिक बयान लिइसकेको छ । थुनामा रहेका जोशीले थुनामुक्त हुन पाउँ भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनसमेत दिएका थिए । तर अदालतले उनको निवेदन अस्वीकार गरिसकेको छ । सूर्यदर्शन सहकारीको कोषाध्यक्ष कुमार रम्तेल झन्डै दुई महिनादेखि पुर्पक्षका लागि थुनामै छन् ।

फरार रहेका अध्यक्ष जीबी राईलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिसकेको छ । तर केही शब्द र पूर्णविराममा फरक भेटिए पनि एकै प्रकृतिको कसुरमा अनुसन्धानको सिफारिसमा परेका पूर्वउपप्रधान तथा पूर्वगृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने आफू निर्दोष रहेको ढोल पिटेर अझै हिँडिरहेका छन् ।

दसैं अगाडि नै पक्राउका लागि प्रयास भए पनि सरकार आफैँ ब्याक भएको थियो । पक्राउ गर्न सरकारले तदारुकता नदेखाउँदा चौतर्फी आलोचना खेप्नु परिरहेको छ । जसका कारण हाईसन्चोमा रहेका लामिछाने स्वयम्ले आफूलाई पक्राउ गर्न भन्दै सरकारलाई उल्टै चुनौती दिई रहेका छन् ।

यता प्रहरी प्रशासन भने लामिछानेलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको ग्रिन सिग्नलको प्रतिक्षामा छ । लामिछानेलाई पक्राउ गर्न नसकेको भन्दै सिंगो प्रहरी संगठनले बदनाम खेपिरहेको छ । पूर्वप्रहरी अधिकारीहरु नै प्रहरी संगठनको आलोचनामा उत्रिएका छन् ।


(बाँकि सामाग्री भिडियो सहित)